सिन्धुली । जिल्लाका विभिन्न तहमा राजनीतिक नेतृत्वमा रहेका महिलाहरुलाई जिल्लाका सरोकारवालाहरुले महिलाका साझा मुद्दामा एक ठाउँमा हुन सुझाव दिएका छन । महिला नेतृत्वहरु नै आफ्ना साझा मुद्दामा एक ठाउँमा हुन नसकेको बताउँदै महिलाका मुद्दामा दलिय आस्थालाई छोडेर एकतावद्ध हुन सुझाव दिए ।
जिल्ला समन्वय समिति सिन्धुलीको आयोजना तथा क्रियाशिल पत्रकार महिला सिन्धुलीको सहकार्यमा बुधबार सिन्धुलीमाढीमा आयोजित नेतृत्वमा महिलाःसमस्या, चुनौती र समाधानका लागि जिल्ला समन्वय समितिको भूमिकाका विषयमा भएको बहस तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै अधिकांश महिलाले महिला नेता हुनलाई धेरै चुनौती रहेको र महिला नेतृत्व स्थापित गर्न एकैठाउँमा हुन जरुरी रहेको बताएका हुन ।
पत्रकार बिमला पाण्डेले महिला मानवअधिकारका मुद्दा, महिलाको नेतृत्व स्थापितको मुद्दामा एकले अर्कोलाई खुट्टा नतानि हात समाएर अगाडि बढ्न आवश्यक रहेको बताईन । एकले अर्काको खुट्टा तानेर महिलाको नेतृत्व स्थापित नहुने बताईन । उनले महिलालाई न्यायको पहुँचमा पु¥याउन पनि सबै एकैसाथ अगाडि बढ्न सुझाव दिईन । महिला नेतृत्व एकतावद्ध नहुँदा महिलाका सवालहरु ओझेलमा पर्दै गएको उनको भनाई छ ।
उनले स्थानीय तहलाई महिलामैत्री योजना, कार्यक्रम, बजेट निर्माण र कार्यान्वयनमा सहजीकरण गर्न समेत सुझाव दिईन । कार्यक्रममा सिन्धुली अपांग महिला संघ सिन्धुलीका अध्यक्ष दीपा देवकोटाले अपांगता भएका महिलालाई महिला नेतृत्वले नै क्षमतामाथि प्रश्न गरेर आत्मवल घटाउने गरेको गुनासो गरिन ।
यस्तै ओसिएमसि सिन्धुलीका घटना व्यवस्थापक सुनिता शर्माले लैंगिक हिंसाको घटना निवारण गर्दा कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने समस्या आईरहने बताईन । उनले लैंगिक हिंसाका सवालमा महिला नेतृत्व संवेदनशिल बन्दै सहयोगी बन्न सुझाव दिईन । उनले स्थानीय स्तरमा लैंगिक हिंसाका सवालमा वहस गर्न आवश्यक रहेको बताईन ।
कार्यक्रममा बोल्दै महिला उद्यमी बिमला थापाले महिलालाई उद्यममा जोड्न र उत्पादनसँगै बजारीकरणमा जोडेर आर्थिक उपार्जनमा जोड्न स्थानीय तहले भूमिका खेल्नुपर्नेमा जोड दिईन । उनले आर्थिक सवाललाई प्राथमिकतामा राख्न समेत सुझाव दिईन । सेफ हाउसका प्रमुख गिता देवकोटाले लैंगिक हिंसाको पीडा कहाँ कसरी समाधान गर्ने भन्ने विषयले सधै पिरोल्ने बताउँदै महिला नेतृत्वले महत्वपूर्ण भूमिका निभाउन आग्रह गरिन ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी बागमति प्रदेश सदस्य गंगा दाहालले अब महिलाका सवालमा छलफल गर्दा मुद्दा विशेषमा छलफल गरेर निश्कर्ष सहित काम गर्ने बेला भएको बताईन । उनले साझा मुद्दामा एक ठाउँमा आउनुपर्नेमा जोड दिईन ।
कार्यक्रममा बोल्दै विभिन्न पालिकाका कार्यपालिका सदस्यहरुले पुरुषहरु नेतृत्वमा रहँदा सोंचेजस्तो गरि महिला र बालबालिकाको पक्षमा काम गर्न गाह्रो हुने गरेको गुनासो गरे ।
गुनासो नगरौं जवाफदेहि बनौं : भुजेल
कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेलले नेतृत्वमा पुगेका महिलाले प्रश्न मात्र नगरि जिम्मेवारी अनुसारको भूमिका निभाउन आग्रह गरिन । उनले महिला नेतृत्वलाई आशावादी बनेर समस्या समाधानमा लाग्न सुझाव दिईन ।
नेतृत्वमा दृढ विश्वास र संकल्प भएमा मात्र सफलता मिल्ने उनले बताइन । उनले सार्वजनिक पदधारण गरेको व्यक्ति दल विशेषको नहुने बताउँदै सार्वजनिक दायित्व निर्वाह गर्न समेत आग्रह गरिन ।
समन्वय समितिका अध्यक्ष कार्साङ लामाले विद्यालयको पाठ्यक्रममा नै महिला र पुरुषबीच विभेद उल्लेख गरिएको उल्लेख गर्दै पाठ्यक्रममा समेत सुधार आवश्यक रहेको बताए । समितिकी उपप्रमुख शान्ता कार्कीले जिल्लाका महिलाको समस्यालाई सदनसम्म पु¥याएर बहस गर्न जिल्ला समन्वय समितिले पुलको काम गरिरहेको समेत बताईन ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले कमलामाईले हालसम्म नगरको बजेट लैंगिकमैत्री नै विनियोजन गर्दै आएको दाबी गरिन । उनले महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि नगर विशेष कार्यक्रम ल्याइएको समेत बताईन ।





















