सिन्धुली । चन्द्रमुखी बहुउद्देश्यीय टोल विकास संस्थाले शनिबार टोल सरसफाई गरेको छ । टोल भित्र रहेको सार्वजनिक स्थान, सडक लगाएतमा सरसफाई गरेको हो ।
टोललाई वातावरणमैत्री र सौन्दर्य टोल निर्माणका लागि पूर्व तयारी स्वरुप टोलको सरसफाई गरिएको संस्थाका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताएका छन । सरसफाईसँगै टोलबासीलाई टोललाई सफा र सुन्दर राख्न संस्थाले थालेको अभियानमा सहयोग गर्न पोखरेलले अनुरोध समेत गरेका छन ।
टोल विकास संस्थाले शनिबारको सरसफाई अन्तिम सरसफाई भएको जनाएको छ । अब आफ्नो घर आँगन र अगाडिको सडक आफै सफा राख्न समेत सबै सदस्यहरुलाई निर्देशन गरि सोहि अवसरमा सचेत गराईएको छ ।
टोल सौन्दर्य र सरसफाई अभियान तथा टोल नमुना बनाउने हरेक गतिविधिमा सहयोग गर्न सबै सदस्यहरुलाई पोखरेलले आग्रह समेत गरेका छन । पोखरेलले विभिन्न दाताहरुको सहयोगमा टोलका प्रत्येक घर घर र चोक चोकमा फूल फुलाउने अभियान थालनी गरिएको समेत बताएका छन ।
उनले जुन ५ अर्थात विश्व वातावरण दिवसका दिन सो अभियानको सुरु गरिने तयारी गरिएको पनि बताए । जसका लागि ११ सय गमला तयार गरिएको समेत जानकारी दिए । उनले कुहिने वस्तु मलका लागि किनिने, प्लाष्टिकजन्य फोहोर छुट्टै राख्ने र सिसालाई छुट्टै राख्ने प्रवन्ध मिलाउने पनि बताए ।





















