सिन्धुली । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल, जिल्ला कार्य समिति सिन्धुलीले पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीका उपाध्यक्ष बुद्ध नेपाली विरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समूहले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा समाचार संकलन, लेखन तथा प्रकाशन पत्रकारको संवैधानिक तथा कानुनी अधिकारभित्र पर्ने पेशागत दायित्व भएको उल्लेख गर्दै प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति वा गुनासो भए प्रचलित कानुन तथा संस्थागत प्रक्रिया मार्फत समाधान खोज्नुपर्ने जनाएको छ ।
विज्ञप्ति अनुसार सञ्चारकर्मी बुद्ध नेपालीले २०८२ साल कात्तिक १६ र १७ गते घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले गाडी फिर्ता गरेको विषयमा समाचार प्रकाशन गरेका थिए । सोही समाचारलाई आधार बनाएर अध्यक्ष भोलनले २०८३ साउन ७ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता गराएको घटनाप्रति समूहले गम्भीर चासो व्यक्त गरेको हो ।
समूहले समाचारका विषयलाई लिएर पत्रकारमाथि उजुरी दर्ता गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अनावश्यक दबाब सिर्जना गर्ने कार्यले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको वातावरणमा प्रतिकूल असर पर्ने जनाएको छ । पत्रकारमाथि हुने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण वा दबाबमूलक कारबाही लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने अधिकारको मर्म विपरीत हुने विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुली शाखाले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष, न्यायोचित र कानुन सम्मत ढंगले सम्बोधन गर्न, पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न तथा प्रेस स्वतन्त्रताको पूर्ण संरक्षण गर्न आग्रह गरेको छ । साथै, समाचारका विषयलाई लिएर पत्रकारमाथि मानसिक दबाब, पेशागत असुरक्षा सिर्जना नगर्न र कानुन विपरीत मुद्दा नचलाउन प्रशासन तथा प्रहरीसँग माग गरेको छ ।
समूहले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानुन व्यवसायी, मानवअधिकारकर्मी, न्यायप्रेमी समुदाय, सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यबद्ध हुन, पत्रकारितामाथि हुने अनुचित हस्तक्षेप, दबाब र प्रतिशोधपूर्ण कारबाहीविरुद्ध स्पष्ट आवाज उठाउन तथा पत्रकारको पेशागत सुरक्षा र स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि आवश्यक सहयोग गर्न अपिल समेत गरेको छ ।






















