सिन्धुली । प्रेस चौतारी नेपाल, सिन्धुली शाखाले पत्रकार बुद्ध नेपाली विरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता गरिएको उजुरी तत्काल विनाशर्त फिर्ता लिन माग गरेको छ । संगठनले उक्त उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शाखा अध्यक्ष वाई.पी. विनयद्वारा जारी प्रेस विज्ञप्तिमा इमेज टेलिभिजन र नेपाल समाचारपत्रका जिल्ला संवाददाता तथा रेडियो विजयकिल्ला एवं विजयकिल्ला टेलिभिजन एचडीका स्टेशन म्यानेजर बुद्ध नेपालीले प्रकाशन गरेको समाचारका विषयमा घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता गराएको र सो उजुरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाइएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा समाचार संकलन, लेखन तथा प्रकाशन पत्रकारको संवैधानिक तथा कानुनी अधिकारभित्र पर्ने पेशागत दायित्व भएको उल्लेख गर्दै प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भए कानुन बमोजिम सम्बन्धित न्यायिक निकायबाट निरूपण हुनु पर्नेमा जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई अनुसन्धान प्रक्रिया अघि बढाउनु गैरकानुनी, आपत्तिजनक तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको दाबी गरिएको छ ।
प्रेस चौतारीले पत्रकारमाथि गरिने कुनै पनि प्रतिशोधपूर्ण वा दबाबमूलक कारबाही लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने अधिकार विपरीत हुने जनाएको छ ।
साथै, समाचारको विषयलाई लिएर क्षेत्राधिकार बाहिर कुनै पनि गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग माग गरेको छ ।
विज्ञप्तिमा पत्रकारमाथि मानसिक दबाब सिर्जना गर्ने, पेशागत असुरक्षा उत्पन्न गर्ने तथा स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने कुनै पनि कार्य नगर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
प्रेस चौतारी नेपाल, सिन्धुली शाखाले पत्रकार बुद्ध नेपाली विरुद्ध दर्ता गरिएको उजुरी विनाशर्त तत्काल फिर्ता लिन सम्बन्धित पक्षसँग अपिल गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ । साथै, त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले नै वहन गर्नुपर्ने उल्लेख गरिएको छ ।






















