सिन्धुली । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सदस्य पत्रकार बुद्ध नेपालीमाथि समाचार प्रकाशन, प्रसारणको विषयलाई लिएर प्रशासनिक उजुरी दर्ता गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले पत्रकार नेपालीले २०८२ कार्तिक १६ गते प्रकाशित गरेको समाचारलाई आधार बनाएर करीब एक वर्षपछि २०८३ साउन ७ गते घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता गराएका हुन् । महासंघले उक्त कार्यबाट पत्रकारमाथि मानसिक दबाब सिर्जना गर्ने प्रयास भएको जनाएको छ ।
महासंघले प्रकाशित समाचारप्रति कुनै असहमति वा गुनासो भए त्यसको समाधान प्रचलित कानुन तथा संस्थागत प्रक्रिया मार्फत खोजिनुपर्ने उल्लेख गर्दै समाचार लेखेकै आधारमा पत्रकारविरुद्ध प्रशासनिक उजुरी दर्ता गरी दबाब सिर्जना गर्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत भएको जनाएको छ ।
महासंघका महासचिव राधेश्याम खतिवडाद्वारा जारी विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई घटनाको निष्पक्ष, कानुनसम्मत र न्यायोचित ढंगले सम्बोधन गर्न, पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न तथा प्रेस स्वतन्त्रताको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरिएको छ । साथै, पत्रकारमाथि कुनै पनि प्रकारका प्रतिशोधपूर्ण, डर–त्रासपूर्ण वा दबाबमूलक गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै यस्ता कार्यले लोकतान्त्रिक मूल्य, स्वतन्त्र प्रेस र नागरिकको सूचनाको अधिकारमाथि प्रतिकूल असर पार्ने महासंघको धारणा रहेको छ ।
समाचारका विषयमा घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा साउन ७ गते मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दा कारवाहिका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाएको छ । २०८२ कार्तिक १६ र १७ गते विजयकिल्ला टेलिभिजनमा प्रसारित समाचारका विषयलाई लिएर भोलनले मुद्दा दर्ता गराएका हुन् ।






















