सिन्धुली÷“हाम्रो सिन्धुली, हाम्रो गौरव” भन्ने मूल नाराका साथ सिन्धुली जिल्लालाई कसरी सम्बृद्ध सिन्धुली बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सिन्धुली पुनःनिर्माण तथा पुनः स्र्थापना केन्द्र सिन्धुलीका अभियन्ता उज्वल विक्रम थापाको अगुवाइमा छलफल भएको हो । कार्यक्रममा सहभागीता जनाउँदै शिक्षक सरोज ढकालले जिल्लाको विकासको लागि शिक्षामा समान पहुँचको अवस्था सिर्जना भएमात्र सिन्धुली समृद्ध हुन सक्ने बताए । जसका लागि अनाथ, असहाय बालबालिकाहरुलाई शिक्षाको मूल धारमा ल्याउनु आवश्यक रहेको बताए । यसैगरी शिक्षक हरि प्रसाद पोखरेलले जिल्लामा विकराल समस्याको रुपमा रहेको लागु पदार्थ दूव्र्यसनीलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । बाल विवाहको समस्या पनि विकराल रुपमा बढ्दै गएको भन्दै त्यसलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसैगरी दाह्री ग्याङ सिन्धुलीका संयोजक प्रदिप्त सिन्धुलीयले सिन्धुलीको स्वास्थ्य क्षेत्रको अवस्था एकदमै नाजुक रहेको र त्यसलाई समधान गर्नु प्रमुख आवश्यकता रहेको बताए । यसैगरी पत्रकार उमा पौडेलले जिल्लामा हुने भ्रष्ट्राचार नियन्त्रण गर्न सके जिल्ला स्वतः समृद्ध हुने बताइन् ।
कार्यक्रममा सहभागिता जनाउँदै लाल बहादुर बुढाथोकीले सिन्धुलीका भएका वस्तुलाई संरक्षण र सम्बद्र्धन गरी सहज परिचालन गर्न सके सिन्धुली स्वतः समृद्ध हुने बताए । निता थापाले आपतकालिन अवस्थामा सहयोग जुटाउनु भन्दा पनि कोष खडा गरेर आपतकालिन अवस्थामा सहयोग गर्न सकिने बताइन् । यसैगरी सहभागी डिवी लामाले हामीले दैनिक रुपमा फजुल रुपमा खर्च गर्ने रकमलाई सही सदुपयोग गरेर समाजसेवामा लगाउन सके पनि जिल्लाको मुहार फेर्न सकिने बताए । सिन्धुलीमा भएका कला संस्कृति सिन्धुलीका समपदा भएकाले यी सम्पदाको संरक्षण गरी देशैभरी सिन्धुलीको कलालाई चिनाउनु आवश्यक रहेको अर्का सहभागी सुमन थापा मगरले बताए । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले हामीले क्षणिक स्वार्थलाई भन्दा पनि दीर्घकालिन असरलाई हेरेर श्रोत र साधनको परिचालन र प्रयोग गर्नुपर्ने बताएका छन् । विपी राजमार्गकै सन्दर्भमा कुरा उठाउँदै अधिकांश सहभागीहरुले सिन्धुलीको पहिचान देशैभरी फैलाउने राजमार्गमा क्षमता भन्दा बढीका मापदण्ड विपरितका सवारी साधन नियन्त्रण कार्यलाई अझ कडाइका साथ लागु गर्नुपर्ने बताएका छन् ।
युवाहरुलाई आफ्नो अभियानमा सरिक गराएर हातेमालो गर्दै अडी बढ्न कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले जनचेतनामूलक कार्यक्रमका माध्यमबाट विभिन्न विकृती विसंगतीहरुको बारेमा सम्पूर्ण सिन्धुलीबासीहरुलाई सुसूचित गराउन सके सिन्धुलीको विकासले धेरै फड्को मार्ने बताएका छन् । नेपालको राजनीति प्रणालीमाथी टिका टिप्पणी गर्दै कतिपय सहभागीहरुले राजनीतिकर्मीको पहिलो प्राथमिकता देश हुनुपर्नेमा परिवार भएकाले नेपालको राजनीति नै उल्टो दिशामा चलेकाले विकास र समृद्धीले फड्को मार्न नसकेको बताएका थिए । अन्तरक्रिया कार्यक्रममा उठेका कुराहरुको विषयमा सम्बोधन गर्दै समाजसेवी थापाले सरकारको अशक्तताको सुधार गर्न भन्दा पनि सरकारको दृष्टीमा नपरेको काम गर्ने मनसाय राखेको बताए । उनले नेपालको बजेट प्रणलीमाथी टिप्पणी गर्दै सरकारी बजेटको प्राथमिकता गरीवि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्र हुनुपर्नेमा अन्य भएकाले समस्या उत्पन्न भएको बताए ।






















