सिन्धुली । जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नंं ७ खुर्कोटको सुनकोशी किनारमा एक वेवारिसे सव फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो पहिचान नखुलेकी एक युवतिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दिउँसो करीब १२ बजेतिर प्रहरीलाई नदीको किनारमा चोटसहितको शव भएको खबर आएपछि इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थल तर्प गएको थियो । युवतिको टाउकोमा चोट लागेको र घटनास्थलमा रगत बगेको, नजिकैको ढुंगामा रगत लागेको पाईएको प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।
उनले घटनाको प्रकृति हेर्दा ढुंगाले टाउकोमा हानी हत्या गरेको देखिन आएको बताए । प्रहरीका अनुसार युवतिको उमेर १८, १९ वर्षको जस्तो देखिए पनि उनको कुनै पनि पहिचान खुल्न सकेको छैन ।
प्रहरीले उक्त शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याएको जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करीब ५ सय मिटर पर रहेको छ ।





















