सरोज खतिवडा
सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिका –२, स्थित जयपुष्प प्राथमिक विद्यालयमा निःशुल्क मुख तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ८४ जानले मुख तथा दन्त परीक्षण गरेका छन् ।
भगवती आल्मुनाइको आयोजना तथा सिन्धुली अस्पताल सिन्धुली र ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोग र तथा तीनपाटन गाउँपालिका कार्यालय सिन्धुली र जनक फेन्सी स्टोर्स सिन्धुलीको सहयोगमा शिविर सम्पन्न भएको हो ।
जिल्लाका ग्रामिण भेगका विरामीहरुलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ शिविरको आयोजना गरिएको भगवती आल्मुनाइका सचिव विवेक बस्नेतले बताएका छन् । मुख तथा दाँतको उचित सरसफाई र उपचार नगरी मानिस स्वस्थ हुन नसक्ने भएकाले जिल्लावासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै भगवती आल्मुनाइले मुख तथा दन्त शिविर सञ्चालन गरिरहेको भगवती आल्मुनाइकी अध्यक्ष डा. धन कुमारी मानन्धरले बताइन् ।
शिविरमा सिन्धुली अस्पतालकी डेन्टल सर्जन डा. धन कुमारी मानन्धर, डेन्टिस्टहरु शंकर श्रेष्ठ, श्रृङ्खला श्रेष्ठ, पुजा पाज्या, प्रभा ज्ञवाली, रुची वस्ती लगायतले सेवाग्राहीलाई सेवा प्रदान गरेका थिए ।























