सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ चिसापानी झोरासँगै जोडिएको सशस्त्र बेश क्याम्प र क्याम्पसँग जोडिएको सडक जोखिममा परेको छ । ग्वाङखोला र लब्दाहा खोलाको दोभानमा वर्षाका समयमा हुने पानीको वहावले क्याम्पको तल्लो भागमा लगाईएको तारजाली भत्काएपछि क्याम्प र चिसापानी झोरातर्फ जाने सडक जोखिममा परेको हो ।
चिसापानी झोरा तर्फ ७२ घरधुरी नियमित आवतजावत गर्ने सडक जोखिममा परेको छ भने क्याम्प नै भत्किने खतरा बढेको छ । स्थानीय सरकारलाई चिसापानी झोराका बासिन्दाले पटक पटक खोला नियन्त्रणका लागि वाल लगाउन बजेट माग गरेको भए पनि वेवास्ता गरेको स्थानीयले बताएका छन ।
जोखिममा रहेको सडक तत्कालिन शहरी विकास तथा भवन डिभिजन कार्यालयले पीच गरेको हो ।
‘वर्षातको समयमा सडक कतिबेला लान्छ भन्ने त्राहि हुन्छ तर आँखा अगाडिको अवस्था पनि स्थानीय सरकारले देख्दैन’, स्थानीय पार्वती भट्टराईले भनिन । केहि वर्ष अघि सिंचाई डिभिजन कार्यालयको सहयोगमा लगाईएको तारजाली वर्षातको समयमा भत्कियो । सडकको तल्लो भाग समेत भत्किएको छ ।
अर्को वर्षातको समय आउँदासम्म पनि नगरपालिकाले बनाउन चासो नदिएको उनले बताईन । यो सँगै सडक खोलाले खोल्न थाल्यो भने मधुटारबाट बसपार्क जाने पुल, नयाँ वस्ती समेत जोखिममा पर्ने देखिएको छ ।
सडक संरक्षण तथा खोलामा तटबन्धका लागि २० लाख भन्दा बढी रकम लाग्ने अनुमान गरिएको पनि उनले बताईन । ‘फाईल नगरपालिकामा पेश गरेका छौं तर सुनुवाई भएको छैन,’ उनले भनिन । कनपा ६ अर्थात खोला पारि बसपार्क र धुरा बजारलाई जोगाउन तटबन्ध गरिएको छ, जसका कारण वारीपट्टी पानीको वहाव बढ्दा सामान्य जालीले छेक्न नसकेको उनले बताइन ।





















