सिन्धुली । अध्यागमन विभागले व्यावसायिक भिसा लिएर भिसाको उद्देश्य विपरीत काम गरेको पाइएपछि अठासी जना चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ ।
विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुलीको मरिण गाउँपालिका–४ स्थित निर्माणाधिन राँगाको मासु प्रशोधन उद्योग अर्थात जियान फुड्स प्रालि (नेपाल हिट–प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट) मा कार्यरत ती विदेशी नागरिकले अन्य कम्पनीको नाममा लिएको व्यावसायिक भिसा प्रयोग गरी फरक प्रकृतिको काम गरेको भेटिएपछि उनीहरुको भिसा रद्द गरिएको जनाएको छ ।
अध्यागमन विभागका अनुसार नेपालमा व्यावसायिक वा औद्योगिक लगानीका लागि आउने विदेशी नागरिकलाई सम्बन्धित निकायको सिफारिसमा व्यावसायिक भिसा जारी गरिन्छ । यस्तो भिसा प्राप्त गर्ने व्यक्तिले भिसा लिएको उद्देश्य अनुसारकै गतिविधिमा मात्र संलग्न हुन पाउने व्यवस्था रहेको छ भने रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यमा प्रयोग गर्न पाइँदैन ।
विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको प्रारम्भिक अनुगमनका क्रममा केही विदेशी नागरिक भिसा सिफारिस तथा स्वीकृतिको उद्देश्यभन्दा फरक प्रकृतिको कार्यमा संलग्न रहेको पुष्टि भएपछि कारबाही अघि बढाएको जनाएको छ ।
भिसा रद्द गरिएका ८८ जनालाई अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गरी नेपालबाट निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ ।
विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्त अनुसार मात्रै गतिविधिमा संलग्न हुन तथा उद्योग, कम्पनी र रोजगारदातालाई उपयुक्त भिसा र स्वीकृति बिना विदेशी नागरिकलाई काममा नलगाउन आग्रह गरेको छ ।
साथै, अध्यागमन तथा अन्य प्रचलित कानुन विपरीतका गतिविधि पाइए कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
प्रचलित कानुन अनुसार नेपालमा व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने इजाजतप्राप्त विदेशी नागरिक वा त्यस्तो संस्थाका अधिकृत प्रतिनिधिलाई सम्बन्धित निकायको सिफारिसमा व्यवसायिक भिसा जारी हुँदै आएको छ । नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी गर्ने विदेशी नागरिकलाई समेत व्यावसायिक भिसा दिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।
अध्यागमन नियमावली, २०५१ ले व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएको हो, त्यही उद्देश्य अनुसार नेपालमा बस्नुपर्ने व्यवस्था गरेको छ । यस्तो भिसा रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न नपाइने विभागले जनाएको छ ।
विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र तोकिएका शर्तअनुसार मात्र गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।
त्यस्तै, उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई उपयुक्त भिसा र आवश्यक स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन विभागले सचेत गराएको छ ।
अध्यागमन कानून तथा अन्य प्रचलित कानून विपरीतका गतिविधिमा विदेशी नागरिक वा सम्बन्धित संस्था संलग्न भएको पाइएमा कानून बमोजिम कारबाही गरिने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




















