सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जिल्लाका वडा, पालिका, प्रदेश र संघिय क्षेत्रका निर्वाचन सम्पन्न भएका छन् । निर्वाचन सम्पन्न भएका कमिटीहरुमा पुरुषहरु मुख्य नेता (सभापति) बनिरहेका बेला एउटा प्रदेश क्षेत्रीय कमिटी भने महिलाले हाँक्ने छिन् ।

सिन्धुलीका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भयो । सबै क्षेत्रमा मतदान वा सर्वसम्मत दुवै विधि अपनाई अधिवेशन सम्पन्न भए । त्यहि मध्ये सिन्धुली क्षेत्र नं. २ खको नेतृत्व भने महिलाको हातमा पुगेको छ । ती एक्ली सभापति हुन सिता स्याङतान । मंगलबार सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उनी सर्वसम्मत सभापतिमा निर्वाचित भईन् । जिल्लाका चारवटा प्रदेश समितिमध्ये सिन्धुली १ (क) को सभापतिमा केशव बराल निर्वाचित भएका छन् ।
सिन्धुली १ (ख) मा खड्ग नेपालीले सभापतिमा निर्वाचित भएका छन् भने सिन्धुली २ (क) को सभापतिमा उज्ज्वल ढकाल निर्वाचित भएका छन् । सबै मतदान मार्फत विजयी भए तर सिताले सर्वसम्मत नेतृत्व लिने मौका पाईन् । सिताले नेतृत्वका लागि सुरु देखि नै दावी गरिन् र सफल समेत भईन् ।
सीता स्याङ्तानको नेतृत्वमा निर्वाचित पुरै कार्यसमिति नै सर्वसम्मत चयन भयो । संघ क्षेत्रीय समितिमा पनि पुरुष नेतृत्व आयो । सिन्धुली क्षेत्र नं. १ को सभापतिमा सुजन थापा मगर र सिन्धुली क्षेत्र नं. २ को सभापतिमा विजय कुँवर निर्वाचित भए ।
नौ स्थानीय तहका सभापति पुरुष नै निर्वाचित भए । दुधौली नगरपालिकामा पूर्णबहादुर विष्ट ‘राजन’, तिनपाटन गाउँपालिकामा लाल बहादुर स्याङतान, कमलामाई नगरपालिकामा समुन्द्र श्रेष्ठ, मरिण गाउँपालिकामा संघर्ष थिङ, हरिहरपुरगढी गाउँपालिकामा चेख बहादुर थिङ, सुनकोशी गाउँपालिकामा कपिल कोईराला, फिक्कलमा घनश्याम पहाडी, गोलञ्जोरमा बचन अधिकारी र घ्याङ्लेखमा श्याम कुमार कर्माचार्य सभापतिमा निर्वाचित भएका छन् ।




















