‘मलाई काममै रमाउन मन पर्छ । बालबालिकाहरुसँगै बस्न रमाइलो लाग्छ । उनीहरुलाई खेलाउन, सिकाउन, पढाउन अनि उनीहरुको कुरा सुन्न मलाई एक किसिमको आदत नै बनिसक्यो ।’ यो भनाई सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ स्थित भानु माध्यामिक विद्यालय रतनपूरको प्रारम्भिक बालविकास सहजकर्ता मायावती दनुवारको हो ।
विद्यालयमा पुग्दा प्रायःआफ्नै काममा व्यस्त देखिने दनुवार उमेरले ४८ वर्ष पुगिन् । जाँगरलाई उमेरले छेक्दैन भन्ने भनाईलाई व्यवहारमा चरितार्थ गर्दै आएकी दनुवारको कामलाई हेर्दा १६ वर्षे जवानले गरे झैं लाग्छ ।
स्थायी बसोबास दुधौली वडा नम्बर २ रतनपुर भएकी मायावतीले विगत २० वर्षदेखि बालविकास केन्द्रको सहजकर्ता भई काम गर्दै आउनु भएको छ । अहिले उनको बालविकास कक्षामा ३५ जना बालबालिका नियमित कक्षामा आईरहेका छन् । दनुवार समूदायको बाहुल्यता रहेको यस ठाउँमा बालकक्षामा पनि दनुवार समुदायकै बालबालिकाहरुको बढी उपस्थिति रहेको छ । धेरै बालबालिकाहरु दनुवार भएकाले कक्षामा पनि उनले दनुवार भाषामै बालबालिकाहरुसँग कुराकानी गर्ने गर्छिन् । जसले गर्दा बालकालिका र सहजकर्ताबीच एक किसिमको निकटता कायम हुन्छ नै ।
मायावती म्यामको कक्षामा प्रवेश गर्दा एक किसिमको आनन्द महसुस हुन्छ । सफा सुग्घर, व्यवस्थित कक्षाकोठा, सिकाईका ६ कुनाहरुमा सम्बन्धित समानहरु व्यवस्थित रुपमा राखिएको, भित्ता भरी हस्त लिखित चित्रात्मक पोस्टरहरु टाँसिएका छन् । बालबालिकाहरुलाई कुशनमा बस्न लगाई गोलो घेरामा राखेर बिहानी सत्रको सुरुवातदेखि ३ बजेसम्म प्रारम्भिक बालविकासको दैनिक कार्य तालिका अनुसार कक्षा सहजिकरण गर्ने उनले ३ बजेपछि ४ बजेसम्म कक्षाकोठाको सरसफाई सामग्रीको व्यवस्थापन र भोलीको कक्षाको तयारी गर्छिन् । यो उनको दैनिकी हो । मायावती भन्छिन्, ‘बालबालिकाहरुलाई दैनिक कार्य र दैनिक पाठयोजना अनुसार कक्षा सहजिकरण गर्दा निकै सजिलो भई रहेको छ । बालबालिकाहरु नै सिकाईमा बढी सक्रिय हुने आफुलाई पनि कामको लोड कम हुने रहेछ मैले त सहजिकरण गरिदिने मात्र हो ।’
नयाँ बालबालिकाहरुलाई विद्यालयमा बानी लगाउने तरिका पनि उनको गजब छ । उनीहरुलाई आमाले जस्तै माया गर्ने, काखमा राख्ने गर्छिन् । साथीहरुसँग घुलमिल भएपछि भने बालबालिकाहरु खुशी भएर विद्यालय आउँछन् । मायावती भन्छिन्, ‘एकदुई दिन त उनीहरुलाई बानी पार्न समय लाग्छ तर त्यसपछि मजाले साथिहरुसँग घुलमिल गराएर आफुले पनि आमाले जस्तै माया गर्नुपर्छ, खुशी भएर विद्यालय आउँछन् ।’
अभिभावक पनि आफ्ना बालबालिकालाई विद्यालयमा पठाउँदा ढुक्क छन् । एक जना अभिभावक भन्छिन्, मेरो छोरीलाई स्कुल नजाउ भन्दा पनि मान्दिन उसलाई घरमाभन्दा स्कूलमै रमाइलो लाग्छ, साथीहरुसँग खेल्न पाईन्छ, मेडमले पनि माया गर्नु हुन्छ छोरीलाई स्कूलमा छोड्दा मलाई ढुक्क लाग्छ ।’ मायावतीले बालबालिकाहरुलाई एकैछिन पनि एक्लै छोड्दिनन् । खाजा खान क्यान्टिन जाँदा होस् वा खेल मैदान जाँदा बालबालिकालाई सँगै लिएर जान्छिन् । उनलाई बालबालिकाहरु लड्न सक्ने चिन्ता छ ।
भन्छिन्, ‘अभिभावकले हाम्रो जिम्मामा दशबजे देखि ३ बजेसम्म छोड्नु भएको हो । उहाँहरु आफ्नो बच्चा लिन नआएसम्म उनीहरुको रेखदेख, सुरक्षाको जिम्मा मेरो हुन्छ त्यसैले म उनीहरु सँगसँगै हुन्छु ।’
मायावती मेडमको कामप्रतिको लगनशिलता देखेर विद्यालय प्रशासन पनि निकै सन्तुष्ट छ । विद्यालयका प्रधानाध्यापक सारदा ढुंगेल भन्छन्, ‘मायावती मेडम आफ्नो जिम्मेबारीलाई कडाई साथ पालना गर्नुहुन्छ र आफुले सिकेको सिपलाई व्यवहारमा प्रस्तुत गर्नुहुन्छ साथै उहाँमा बालबालिकाहरुलाई खुशी बनाएर कक्षामा राख्ने कला पनि छ ।’ चाईल्डएड नेटवर्क फाउन्डेसन नेपालसँगको साझेदारीमा रिलिफ नेपालद्धारा प्रारम्भिक बालविकास सहजकर्ताहरुको क्षमता विकास तालिम विभिन्न चरणमा गरी चार पटक र रामेछाप शैक्षिक अवलोकन भ्रमणमा समेत सहभागि भएकी मायावती दनुवार आफुले यो अवसर पाएदेखि आफ्नो काममा निकै सहज भएको बताउँछिन् ।
आफुहरुले पहिला तालिमको अवसर नपाएर धेरै कुराहरु थाहा नभएर पनि नगरेको उनले बताईन् ।
रिलिफ नेपालले आफ्नो सेवा क्षेत्रका प्रत्येक सामूदायिक विद्यालयमा प्रारम्भिक बालबिकास सहजकर्ताको काममा सहजिकरण गर्नको लागि एक जना विद्यालय अधिकृतको पनि व्यवस्थापन गरेको छ । मायावती भन्छिन्, ‘मैले तालिममा सिकेको, भ्रमणमा देखेको नयाँ कुराहरुलाई सकेसम्म बालबालिकासम्म पु¥याउने गर्छु । जहाँ मलाई असहज हुन्छ, बिर्सिन्छु विद्यालय अधिकृत एन्जिला म्यामलाई सोध्छु । उहाँलाई बुझाइदिनु, गरेर देखाइदिनु भन्छु । उहाँ अरु स्कूल जाँदा पनि भोली मेरो स्कूल आउनु भन्छु पहिलाभन्दा अहिले धेरै सजिलो भएको छ मलाई ।’
यसै सन्र्दभमा विद्यालय अधिकृत एन्जिला राना भन्छिन्, ‘मायावती मेडम, जिज्ञासु हुनुहुन्छ । सिकाएको कुराहरु निकै चासोका साथ सिक्न खोज्नुहुन्छ अनि बालबालिकाहरुलाई पनि माया गरेर सहज तरिकाले सिकाउनु हुन्छ, सबै भन्दा राम्रो पक्ष उहाँ एकदम सकारात्मक हुनुहुन्छ ।’
विद्यालयमा अन्य शिक्षक साथीहरुसँग मित्रवत व्यवहार गर्ने, सरल, इमान्दार, सहयोगी भावनाकी धनी भनेर आफ्ना पहिचान बनाउनु भएकी दनुवारलाई बालविकासका कक्षाका ती साना बालबालिकाहरुको कसैको आमा भनेर बोलाउँछन् त कसैको मेडम भन्ने गर्छन् । उनीहरुले जे भनेर बोलाए पनि आफुलाई बालबालिकाको शब्दभन्दा पनि बोली नै प्रीय लाग्ने मायावतीको भनाई छ । विद्यालयमा मात्र हैन फुर्सदको समयमा घरमा पनि उनी आफ्नो कक्षा कोठामा प्रयोग हुने शैक्षिक सामग्री निर्माण गर्ने गर्छिन् । हाम्रै वरपर हुने विभिन्न वस्तुहरुबाट पनि बालबालिकालाई फरक फरक किसिमको शिक्षण सिकाई सामग्री निर्माण गर्न सकिन्छ ।
मायावतीको पेशागत २० वर्षे लामो यात्रामा उहाँले बाल कक्षामा पढाएका त्यति बेलाका धेरै बालबालिकाहरु अहिले ठूला भएर विभिन्न क्षेत्रमा आवद्ध छन् । प्रगति गरिरहेका छन् । विगतलाई सम्झंदै भन्छिन्, ‘मैले बालकक्षामा हात समाएर क, ख लेख्न सिकाएका पढ्न सिकाएका नानी बाबुहरु अहिले कोही डाक्टर, कोही पुलिस, कोही आर्मी, कोही शिक्षक त कोही विदेशमा छन् । मलाई फोन गर्छन् म्याम हामीलाई हजुर सानोमा पढाउनु भएको भन्छन्, उनीहरुले यसो भन्दा उनीहरुको प्रगती सुन्दा निकै खुशी लाग्छ ।’
अहिले सूचना र प्रविधिको युग हो । प्रविधिसँगै बालबालिकाहरुको सिकाईको तरिका, उनीहरुको ईच्छा चाहानाहरु पनि तीव्र रुपमा पहिलाभन्दा फरक भएको छ । यो अवस्थामा पनि उनले आफुलाई प्रविधिसँग अपडेट पनि गरिरहेकी छिन् । भन्छिन्, ‘म जस्तो पुरानो लामो समयसम्म यो पेशामा रहने साथीहरुलाई हामीले पहिलादेखि गर्दै आएको परम्परागत शैलीलाई परिवर्तन गर्नु पर्नेछ । हामीलाई चुनौतीपूर्ण छ तर सकेसम्म अपडेट गर्दैछु । मोवाइलमा हेर्छु मलाई काम लाग्ने भिडियोहरु छन् भने सेभ गर्छु । निर्देशिकाहरु पढ्छु । विद्यालय अधिकृतलाई नजानेको कुरा सोध्छु ।’
‘आफुले सिकेको कुरा निरन्तर ग¥यो भने त्यो बानीको रुपमा विकास हुने रहेछ भन्ने कुरा मैले तालिमपछि काम गरेको अनुभवले पनि सिकें, जुन मैले सधैं गर्नेछु । बालबालिकाहरुलाई आफुले सिकेको कुरा सिकाउन कन्जुस्याँई गर्नु हुन्न भन्ने बुझेको छु ।’ उनले थपिन् ।
उनको काममात्र उत्कृष्ट हैन, अब मुल्यांकनमा पनि उत्कृष्ट बन्दैछिन् । यसै क्रममा रिलिफ नेपालद्वारा सञ्चालित सबैका लागी समतामूलक सिकाई वातावरण (इलिभेट) परियोजना मार्फत गरिएको मूल्यांकन अनुसार गत शैक्षिक सत्रमा उत्कृष्ट प्रारम्भिक बालबिकास केन्द्र पुरस्कारबाट सम्मानित पनि भएकी छिन् ।
प्रारम्भिक बालविकासप्रति हाम्रो सामान्यभन्दा पनि सामान्य बुझाई छ । बालबालिकालाई कक्षामा खेलाउने त हो भुल्याउने त हो, के छ र त्यस्तो गाह्रो भन्ने । घरमा हामीलाई एकजना बालबालिकालाई झेल्न त कति गाह्रो लाग्छ विद्यालयमा एक जना सहजकर्ताले ३५ जना बालबालिकालाई झेल्दा कस्तो होला ? त्यो पनि मनन गरौं । हामीले प्रारम्भिक बालविकासलाई जति सामान्य रुपमा लिन्छौ वास्तवमै प्रारम्भिक बालविकास कक्षा सहजिकरण जटिल पनि छ । यो तह भनेको भोलीको लागि कस्तो जनशक्ति तयार गर्दैछौ हामी त्यसको आधारभूत तह हो । त्यसमा पनि हरेक बालबालिका आफैंमा विशेष हुन्छन्, उनीहरुको चाहाना, इच्छा अनुसार कक्षा सहजिकरण गर्नु सामान्य कुरा छैन जुन मायावती दनुवारले गर्ने कोशिस गरिरहेकी छिन् । मायावती नामको मात्र मायावती हैन व्यवहारले पनि माया देखाउने हुनुहुन्छ त्यो उनीप्रतिको बालबालिकाको आकर्षणले छर्लङ्ग हुन्छ । जुन प्रारम्भिक बालविकास सहजकर्तामा हुनु पर्ने गुणमध्ये अत्यावश्यक गुण पनि हो । मायावती मेडमको बालबालिकाप्रतिको लगाब र कामप्रतिको इमान्दारिता सधैं कायम रहोस् शुभकामना ।
(कार्की रिलिफ नेपालद्वारा सञ्चालित सबैका लागी समतामूलक सिकाई वातावरण (इलिभेट) परियोजनाको शिक्षा अधिकृत हुन् ।)






















