सिन्धुली । जिल्लामा एक वर्षको अवधिमा २ सय ८२ जना हराएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा प्राप्त निवेदन अनुसार जिल्लामा हराउनेमा सबैभन्दा बढी महिला, बालबालिकाको संख्या रहेको छ । हराएका मध्ये २ सय ७७ जना फेला परेका छन् भने ५ जना अझै सम्पर्क विहीन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आर्थिक वर्ष २०८२/०८३ को तथ्यांक अनुसार हराएकामध्ये महिला १३१ जना रहेका थिए । तीमध्ये १३० जना फेला परेका छन् भने १ जना अझै सम्पर्क विहीन छन् । त्यस्तै १ सय १ जना बालबालिका हराएको तथ्यांक प्रहरीसँग छ । ती मध्ये एक सय जना भेटिएका छन् ।
त्यसैगरी पुरुष ४१ जना हराएको विवरणमा उल्लेख छ । तीमध्ये ३९ जना फेला परेका छन् भने २ जना अझै फेला पर्न बाँकी छन् । ज्येष्ठ नागरिक ९ जना हराएको निवेदन दर्ता भएकोमा ८ जना फेला परेका छन् भने १ जना सम्पर्क विहीन रहेका छन् ।
यसरी हराउने महिलाहरुमा श्रीमानहरु बैदेशिक रोजगारीमा हुने र श्रीमतिहरु घर छोडेर हिड्ने गरेको, केहिले दोश्रो विवाह समेत गरेको पाईएको छ । यस्तै केहिले पारिवारिक कलह, झैझगडाका कारण पनि घर छोडेको देखिएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख उमा तामाङले बताएकी छिन् ।
उनका अनुसार बालबालिकाहरु साथीको लहलहैमा घर छोड्ने गरेको पाईएको छ । विशेष गरि उचित अभिभावत्व पाउन नसकेका बालबालिकामा हराउने समस्या बढी देखिएको तामाङले बताईन । उनका अनुसार बालबालिकाहरु केहि दिन हराउने, अभिभावकले खोजीका लागि निवेदन दिने र पछि फेला पर्ने गरेका घटनाहरु धेरै रहेका छन् । हराउनुमा सामाजिक सञ्जालको प्रयोग समेत देखिएको छ । उनका अनुसार हराएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ ।





















