सिन्धुली । सोमबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर पीडित पक्षले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् । फिक्कल गाउँपालिका वडा नं. २ नवलपुरमा पिडित परिवारले मंगलबार विहानैदेखि सडक बन्द गरेका हुन् । उनीहरुले सडकमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
दुर्घटनाका भएको २४ घण्टा वित्न लाग्दा समेत बस धनी र समितिले घटनालाई बेवास्ता गरेको, घटनाको सत्य,तथ्य छानविन गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने, कारमा सवार वेपत्ता रहेका व्यक्तिहरुको खोजी कार्य तिव्र हुनुपर्ने र उचित क्षतिपूर्तिको समेत माग गर्दै पीडित परिवारले सडक अवरुद्ध गरेका हुन् ।
सडक छेउमा रोकेर राखिएको कारलाई तिव्र गतिमा रहेको बसले पछाडीबाट ठक्कर दिँदा भएको दुर्घटनामा सोमबारदेखि कार र तीन जना मानिस सुनकोशी नदीमा बेपत्ता रहेका छन् । सोमबार दिनभरको खोजी कार्य असफल भएपछि राती ८ बजेपछि खोजी कार्य स्थगित गरिएको थियो । मंगलबार विहानैदेखि पुनः खोजी कार्य अगाडी बढाईएता पनि केही फेला पर्न सकेको छैन ।
कार सुनकोशी नदीमा खस्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ का ३९ वर्षिय दिल कुमार लामा सिन्धुलीको गोलन्जोर गाउँपालिका १ का स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका ९ डाँडाखर्कका १७ बर्षिया सुजन बलम्पाकी मगर सुनकोशी नदीमा बेपत्ता रहेका छन् ।
घटनापछि खोजी कार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटको गोताखोर टोली, नेपाली सेना, नेपाल प्रहरीबाट खटिएको उद्धार टोली, स्थानीयहरुले निरन्तर खोजी गरिरहेका छन् ।
वर्षायाममा सुनकोशी नदीको बहाव ठूलो भएकाले बेपत्ता कार र मानिसहरुको खोजीमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । उनका अनुसार यातायात व्यवसायीलाई बोलाईएको र उद्धारका लागि काठमान्डौ र बर्दिबासबाट थप जनशक्ति मगाईएको छ ।





















