सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका थुनुवाले हिरासतभित्रको शौचालयमा आत्महत्या गरेका छन् । सोमबार दिउँसो उनले आत्महत्या गरेका हुन् ।
एक १६ वर्षिय बालिका बलत्कारको अभियोगमा पक्राउ परेर प्रहरी अनुसन्धानमा रहेका सुनकोशी गाउँपालिका वडा नं. ३ जुम्लिडाँडाका २२ वर्षिय श्रीकृष्ण वि.क.ले शौचालयको झ्यालको रडमा लगाएको कपडाले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।
शौचालयबाट लामो समय ननिस्केपछि उनको खोजी गर्दा उनी झुण्डिएको भेटिएका थिए । उनले आत्महत्या प्रयास गरेको थाहा पाएपछि प्रहरीले उद्धार गरि खुर्कोटमा रहेको सुनकोशी अस्पतालमा उपचारका लागि लगेको थियो । सुनकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । सिन्धुली अस्पतालमा लाँदै गर्दा उनको मृत्यु भएको बताईएको छ । अस्पतालमा पुग्ना साथ अस्पतालले वि.कलाई मृत घोषणा गरेको समेत एसपी सुवेदीले बताएका छन् ।
वि.कलाई विहिबार ललितपुरको सातदोवाटोबाट पक्राउ गरि खुर्कोटको हिरासतमा ल्याईएको थियो । शुक्रबार सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको थियो ।
बालिकासँग आरोपित वि.कले प्रेम विवाह गरेको र विवाह सम्बन्ध छुटाउनका लागि बालिका पक्षले बलत्कारको मुद्दा दर्ता गरेको बताईएको छ । सातदोवाटो प्रहरीमा दिईएको उजुरीपछि वि.कलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका वि.कलाई इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याई मुद्दाको अनुसन्धान सुरु गरिएको थियो । मृतकको र बालिकाको सम्बन्ध दलित, गैह्र दलित रहेको समेत खुलेको छ ।






















