सिन्धुली/प्रहरीले लागु औषध विरुद्ध ड्रग ट्रयाकर सर्च अप्रेशन गरिरहेको छ । विपी राजमार्ग र मदनभण्डारी राजमार्ग लक्षित गरि जिल्लाका विभिन्न ठाउँमा तीन दिनदेखि लागु औषध तथा विस्फोटक पदार्थको ट्रयाकिङ गरिरहेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास र सिन्धुली प्रहरीको संयुक्त सर्चमा शनिबार लागु औषध सहित तीन जना पक्राउ परेका छन् ।
अन्तर जिल्ला सिमानाका सुरक्षा सर्चमा तालिम प्राप्त विशेषज्ञ कुकुर सहितको टोलीले चेकजाँच गर्ने क्रममा कमलामाई नगरपालिका वडा नं. ९ भिमानबाट तीन जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।
शनिबार काँकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९६६० नम्बरको हायसमा सवार रहेका झापा मेचीनगर नगरपालिका वडा नं. २ का २४ वर्षिय निकास आले, सिरहाको लाहानबाट काठमाण्डौतर्फ जाँदै गरेको मधेश प्रदेश०१–००१ख०६२८ नम्बरको हायसमा सवार सिराहा वरियारपट्टि गाउँपालिका वडा नं. ४ का २४ वर्षिय उदित नारायण राय अमात र इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०१–००२ ज ७५९९ नं. को ट्याक्सीको पछाडीको सिटमा सवार मोरङ बेलबारी नगरपालिका वडा नं. १० का ३७ वर्षिय पदम बहादुर जोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्च टोलीले आलेलाई ३३ ग्राम ८७० मिलिग्राम खैरो हिरोईन, अमातलाई ५३० मिलि ग्राम खैरो हिरोईन र जोगीलाई १२ ग्राम ६०० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरेको छ । उक्त टोलीले शुक्रबार लागु औषध खैरो हिरोईन र ट्यावलेट सहित २ जनालाई पक्राउ गरेको थियो । यस्तै विहिबार दुधौली नगरपालिका वडा नं. १० बाट छ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको थियो ।
तीन दिनका लागि सिन्धुली आएको ड्रग ट्याकर कुकुरले सर्च अभियानको समय थप गरेको एसपी सुवेदीले जानकारी दिएका छन् । बागमती प्रदेश प्रहरीले विभिन्न जिल्लामा यो अभियान चलाईरहेको उनले बताए ।





















