सिन्धुली । जिल्लामा पहिलो पटक हरियो घाँसबाट पशुको आहारा बनाउने साइलेज प्लान्टको स्थापना गरिएको छ । आईतबार कमलामाई नगरपालिका वडा नं. १ मा साईलेज प्लान्ट सुरु गरिएको छ । कमलामाई नगरपालिका सिन्धुली र हेफर इन्टरनेशनल नेपालको लागत साझेदारीमा उक्त साईलेज प्लान्ट सञ्चालनमा ल्याईएको हो ।
कमलामाई नगरपालिका र हेफर इन्टरनेशनलद्वारा सञ्चालित मिल्की वे परियोजना अन्तर्गत ३७ लाख लागतमा निर्माण गरिएको घाँसबाट पशुको दाना बनाउने उद्योग (साईलेज प्लान्ट) को कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका छन् ।
परियोजना अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ४ मा होलिस्टिन प्रजातिका गाई पालकहरुको सहकारी कमलामाई सामाजिक उद्यमी दुग्ध सहकारी संस्था लिमिटेडद्वारा सञ्चालन गरिने छ ।
होलिस्टिन प्रजातीका गाईहरुलाई सुख्खा समयमा पौष्टिक दाना बनाउन र खुवाउनका लागि प्लान्ट सञ्चालन गरिएको कमलामाई नगरपालिकाका पशु विकास शाखा प्रमुख डा. रोशन कोइरालाले बताएका छन् । उनका अनुसार साईलेज प्लान्ट निर्माणमा कमलामाई नगरपालिकाको ६ लाख पचास हजार, हेफर इन्टरनेशनलको ८ लाख पचास हजार र हेफरबाटै २२ लाख बराबरको मेसिन समेत गरि ३७ लाख लगानी गरिएको छ । साईलेज प्लान्ट निर्माणपछि होलिस्टिक गाईलाई पोषिलो खाना दिन, दाना खर्च घटाउन र लामो समयसम्म दाना सुरक्षित गर्न मद्दत पुग्ने कोइरालाले बताए ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले साइलेज प्लान्ट स्थापना हुनु कमलामाई नगरपालिकाका किसानहरुका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
उनले पशुपालन व्यवसायलाई दिगो, व्यवस्थित र उत्पादनमुखी बनाउन प्रविधिमैत्री पूर्वाधारहरू अत्यन्त आवश्यक रहेको बताउँदै किसानहरूलाई वर्षभरि गुणस्तरीय पशु आहार उपलब्ध गराउन यस प्लान्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पोखरेलले स्थानीय उत्पादन वृद्धि, लागत न्यूनीकरण र आम्दानी अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले उहाँले यस साइलेज प्लान्ट सिन्धुली जिल्लाकै पहिलो साइलेज उत्पादन केन्द्र भएको उल्लेख गर्दै यसले जिल्लाभरिका कृषकहरूका लागि नमूना परियोजनाको रूपमा काम गर्ने बताए ।
कमलामाई नगरपालिका वडा नं. १ का अध्यक्ष नरेश गोलेको अध्यक्षता तथा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सिड्स नेपालका अध्यक्ष दिपक घिमिरे, हेफर इन्टरनेशनल मिल्की वे परियोजनाका प्रबन्धक डा. नारायण शर्मा, पशु विकास शाखा प्रमुख डा. रोशन कोइराला, कमलामाई समाजिक उद्यमी दुग्ध सहकारी संस्थाका अध्यक्ष गुण कुमारी घिमिरे लगाएत सहकारीका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।





















