सिन्धुली । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई गैह्र कानुनी रुपमाा गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी(एमाले) जिल्ला कमिटी सिन्धुलीले जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बिरोध पत्र बुझाएको छ ।
आइतबार पार्टीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएका हुन् ।
ओली र लेखकलाई गरिएको गिरफ्तार राजनीतिक प्रतिशोधपूर्ण र कानुनी शासन विरुद्धको कदम भएको उल्लेख गर्दै एमालेले बिरोध पत्र बुझाएको हो । साथै एमालेले पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक तत्काल रिहाइको माग गरेको छ ।
बिरोध पत्रमा भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनकोे घटनाको छानबिनका लागि गठित आयोगप्रति असहमति जनाउँदै उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिसोधपूर्ण तथा न्यायिक सिद्धान्त विपरीत रहेको एमालेले दाबी गरेको छ ।
नेकपा एमाले सिन्धुलीले घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधिशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ । पार्टीले संविधान, लोकतन्त्र र मानवअधिकारको संरक्षणका लागि राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई एकजुट हुन आग्रह समेत गरेको छ ।
बिरोध पत्रमा उल्लेख भनिएको छ, ‘कार्की आयोग छानबिनको लागि बनेको होइन, तत्कालीन राजनैतिक नेतृत्वको चरित्रहत्या गर्ने र घृणाको राजनीतिलाई सस्ंथागत गर्ने गरि तयार भएको छ ।’
एमाले जिल्ला कमिटी सिन्धुलीले गैह्रकानुनी गिरफ्तारी जस्ता घटनाले लोकतान्त्रिक आन्दोलनमाथि आघात पुगेको उल्लेख गर्दै यस्ता कदम सच्याउन सरकारसँग माग समेत गरेको छ । विरोधपत्र बुझाउनु अघि नेकपा एमालेले कालो व्यानरसहित सिन्धुलीमाढीमा विरोध जुलुस समेत गरेको छ ।
यस्तै एमालेले जिल्ला प्रशासन अगाडि र बसपार्कमा टायर बालेर नारावाजी समेत गरेका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो ।

























