सिन्धुली । निर्वाचनका लागि जिल्लामा कर्मचारी, सुरक्षाकर्मी र मतपत्र सबै निर्वाचन केन्द्रहरुमा पुगेका छन् । सोमबार नै सबै स्थानमा निर्वाचन गराउन कर्मचारी, सुरक्षाकर्मीहरु मतदानका लागि आवश्यक सामग्री सहित २ सय ७२ मतदान केन्द्रमा पुगेका हुन् ।
मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मीहरुले सर्वदलिय बैठक बसी निर्वाचनका विषयमा छलफल गर्ने, मतदान स्थलको व्यवस्थापन गर्ने लगाएतका कामहरु सुरु गरेका छन् ।
जिल्लामा रहेका १५१ निर्वाचन स्थल र २ वटा अस्थायी निर्वाचन स्थल रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा १ सय ३८ र निर्वाचन क्षेत्र नं. २ मा १ सय ३४ गरि २ सय ७२ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबारसम्म मतदानको तयारीका सबै काम सकिने गरि कर्मचारीहरुले मतदानस्थलमा खटिएको कार्यालयले जानकारी दिएको छ । निर्वाचन कर्मचारीसँगै सुरक्षाकर्मीहरु समेत खटिएका छन् ।




















