सिन्धुली । विपी राजमार्गमा विहिबार सवारी दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् । कमलामाई नगरपालिका वडा नं. ३ पौवागढी आड नजिकै दुध लोड भएको ट्यांकर र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भिर घाईते भएका हुन् ।
सिन्धुलीबाट खुर्कोटतर्फ जाँदै गरेको बा.प्र ०१–००४ क २५९४ नम्बरको ट्यांकर र खुर्कोटबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.प्र ०२–०५५प९६१६ नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक धनुषा जनकनन्दनी गाउँपालिका वडा नं. ३ का २४ वर्षिय रोशन शाह र मोटरसाईकलमा सवार चालककी बहिनी २० वर्षकी प्रिति शाह गम्भिर घाईते भएका हुन् ।
घाईते दुवै जनालाई सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि निजामती कर्मचारी अस्पताल मिनभवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुबेदीले जानकारी दिएका छन् ।




















