सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमानबाट खैरो हिरोईन सहित एकजना पक्राउ परेका छन् । भिमान चेकपोष्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा एकजनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा काठमाडौंबाट राजविराजतर्फ जाँदै गरेको बा ५ ख १९६७ नम्बरको हायसमा सवार रहेका मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ का ३४ वर्षिय महम्मद समसिरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार १९५ दशमलब ५९० ग्राम खैरो हिरोईन सहित समसिर पक्राउ भएका हुन् ।
समसिरले लगाएको निलो रङको जिन्स पाइन्टको अगाडिको दायाँ गोजीभित्र सेतो रङको दुई वटा प्लास्टिकमा प्याकिङ गरी ल्याएको हिरोईन सहित पक्राउ गरिएको उनले बताए ।
प्रहरीले समसिरलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको सुवेदीले बताए ।





















