नीति, थिति र विकासका बहस भन्दा पनि नेताहरूबीचको आरोप प्रत्यारोप र व्यक्तिगत स्वार्थ प्राथमिकतामा देखिएका कारण पनि पछिल्लो समय राजनीतिप्रति जनताले विश्वास गर्न सकेका छैनन् । राजनीतिक दलहरु भित्र देखिएका गुटगत प्रवृतिले जनतामा मात्र हैन पार्टीहरुका दह्रा खम्बा बनेका कार्यकर्ताहरुमा समेत निराशा ल्याएको छ ।
नेपालमा पछिल्लो समय राजनीतिमा सुधारका लागि निक्कै बहस भएका छन् । बहस सामाजिक सञ्जाल, चोक चौतारा वा भेटघाटमा मात्र हैन मिडियाहरुमा पनि राजनीतिक दलहरु सुधारको बहस चुलिँदै गएको छ । जुनसुकै कुराको पनि सुधारका लागि बहस आवश्यक छ । यो बहस जेनजी आन्दोलन अघिदेखि नै सुरु भएको हो । जेनजी आन्दोलन यहि बहसको अत्यधिक चरम रुपमा बाहिर आयो । जसले देशलाई खरानी बनायो । खरानीको थुप्रो, धुलो र धुवाँका बीच पनि राजनीतिमा पुस्तान्तरण र सुधारको बहस चर्को रुपमा छ ।
यो आन्दोलनले पुराना लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि लामो योगदान दिएका राजनीतिक दलदेखि नयाँ दलहरुमा धु्रविकरण, एकता, सहकार्य, विभाजन सबै खालका क्रिया प्रतिक्रिया चलिरहेका छन् । तर राजनीतिमा भएका विकृति हट्नुको सट्टा झनै तिव्र रुपमा बढेको देखिन्छ ।
राजनीतिक सुधारका लागि पहिले नागरिक सचेतना आवश्यक छ । लोकतन्त्र, राजनीतिक संयन्त्र, कानुन, संविधानभित्र रहेर बहस आवश्यक छ तर त्यसो पनि भईरहेको छैन । राम्रो सकारात्मक र देश बनाउने अभियानमा नत नागरिक छन् नत नयाँ पुस्ता छ, नत कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र छ, न राजनीतिक दल नै छन् । यसले नागरिकमा थप निराशा आउनु स्वभाविक छ र अझै निराशा चुलिने देखिन्छ । पछिल्लो पुस्तामा सबैलाई नेता बन्ने होडबाजी छ । पुरानो पुस्ता नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देखिदैन । सुशासनको मुद्दा बोकेर आन्दोलनमा होमिएको पुस्ताले सत्ताको उलटपुलट हुन्छ भन्ने आँकलन गरेको थिएन । नेतृत्व तयार गरेको थिएन त्यसैले यतिबेला देश झनै बर्वादीतिर धकेलीरहेको छ । अझ जेनजी पुस्ताले आफुलाई एकतावद्ध बनाउन नसकेपछि आलोचना खेपिरहेको छ ।
यति हुँदा हुँदै पनि फेरी यो देशमा सुधार र स्थायीत्व ल्याउने राजनीतिक दलहरु नै हुन् । दलिय व्यवस्था र लोकतन्त्रको रक्षा गर्नका लागि फेरी कानुनी राज्य स्थापित गर्नुको विकल्प पनि छैन । जसको नेतृत्व राजनीतिक दलले नै गर्ने हुन् । जेनजीका माग सम्बोधन गर्न पनि संविधानकै रक्षा आवश्यक छ, लोकतन्त्रकै खाँचो छ । प्रतिनिधिसभा बिना नत संविधान संशोधन हुन्छ नत जेनजीले उठाएका सबालहरु नै सम्बोधन हुन्छन् । जेनजीहरुले उठाएको साझा माग भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हो जुन संविधान संशोधन बिना सम्भव छैन ।
जेनजी आन्दोलन उठ्नु र नागरिकमा राजनीतिप्रति वितृष्णा आउनुमा धेरै कारणहरु छन् । ति कारणहरुको पहिचान गरेर समस्या समाधानमा लाग्नुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा आएको छ, आजको यो आवश्यकता पुरा गर्न दलहरुको साझा एजेण्डा बन्न आवश्यक छ । अहिले बहस चल्नुपर्ने विषयहरुमध्येको केहि विषयहरु जेनजी आन्दोलनसँग पनि सम्बन्धित छन् । जेनजी आन्दोलनका अवाञ्छित र राष्ट्रविरुद्धका गतिविधिमा सहमत हुन सकिँदैन । राष्ट्रिय झण्डा ओढेर राष्ट्रका धरोहर, व्यक्तिगत सम्पत्ति, सार्वजनिक सम्पत्ति जलाउने, व्यक्ति वा राजनीतिक नेतृत्वलाई आक्रमण गर्ने शैली र नेतृत्व विहिन गतिविधिहरुमा सहमति जनाउन सकिदैन तथापी यो आन्दोलनले केहि बहस गर्न बाध्य भने बनाएको छ ।
भ्रष्टाचार र दण्डहीनता
पछिल्लो समय सबै दलका नेताहरुमा निरन्तर भ्रष्टाचारको आरोप लागेको छ । केहि ठाउँमा भ्रष्टाचार पनि भएका छन् । आरोप लागेकाहरुलाई छानविन गरि दोषी र निर्दोष नछुट्टाईदा नागरिकमा सबै नेताहरु भ्रष्टाचारी नै हुन भन्ने दरिलो छाप परेको छ । यसले राजनीतिमा ठूलो वितृष्णा छाएको छ । नेता भन्ने वित्तिकै भ्रष्ट देख्ने नागरिक नजर स्थापित भएको छ । ठूला घोटालामा नाम जोडिने तर दोषका आधारमा कारवाहि हुन नसक्नुले राजनीतिक दल र सबै नेताहरु भ्रष्ट हुन भन्ने अवस्था सृजना भएको छ । यो समस्या जेनजी आन्दोलनको बलमा बनेको सरकारमा पनि लागु भईसकेको छ । तर वास्तविकता खोज्न नागरिकहरुले सकेको अवस्था छैन । विशेष गरि यो अवस्था सृजना हुनुमा राजनीतिक दलहरु नै सामाजिक सञ्जालमा खेल्ने दोहोरी र आरोप प्रत्यारोप नै जिम्मेवार छन् । यो सँगै कानुनी व्यवस्थाहरुको कार्यान्वयन र न्याय सम्पादनमा भएका समस्याहरुले पनि राजनीतिक दलहरुलाई नै आलोचित बनाएका छन् । दलका कारण नै कानुन कार्यान्वन हुन नसकेको आम जनताको बुझाई छ । जसले गल्ती गरे पनि दल र नेताले गरे भन्ने प्रवृतिका कारण पनि समस्या सृजना भएका छन् ।
सरकारमा स्थिरता नहुनु
संसदीय व्यवस्थामा कुनै दलले बहुमत प्राप्त गर्न नसक्दा बारम्बार सरकार बदलिने, गठबन्धन हुने, फुट्ने चक्रको विकास भयो । सरकार सञ्चालनमा स्थिरता देखिएन । यसले राजनीतिप्रति वितृष्णा जन्मायो । चुनावी प्रक्रियामा पनि कहिले कोसँग मिल्ने, कहिले कोसँग मिल्ने र फुट्ने प्रक्रियाले जनतामा निराशा ल्याएको छ । हरेक नागरिकले आफ्नो राजनीतिक आस्था बोकेका हुन्छन् सोहि आस्था अनुसार भोट हाल्न नपाउनु र भोटका लागि जुनसुकै हर्कत गरिरहने प्रवृतिले पनि जनताले राजनीतिलाई नकारात्मक रूपले हेर्न थालेका छन् ।
नेताहरूको आपसी कलह
नीति, थिति र विकासका बहस भन्दा पनि नेताहरूबीचको आरोप प्रत्यारोप र व्यक्तिगत स्वार्थ प्राथमिकतामा देखिएका कारण पनि पछिल्लो समय राजनीतिप्रति जनताले विश्वास गर्न सकेका छैनन् । राजनीतिक दलहरु भित्र देखिएका गुटगत प्रवृतिले जनतामा मात्र हैन पार्टीहरुका दह्रा खम्बा बनेका कार्यकर्ताहरुमा समेत निराशा ल्याएको छ । आपसी एकता नहुने र दलका आन्तरिक गोप्त कुराहरु अर्को दलसम्म पुग्ने, एक दलका कार्यकर्तालाई अर्को दलको नेताहरुको नकरात्मक टिप्पणी गर्न सिकाउने र गर्ने गरिरहँदा नागरिकले राजनीतिक दललाई अस्वीकार गर्न थालेका छन् ।
जनताको अपेक्षा पुरा नहुनु
समय गतिशिल छ । प्रविधिले विश्वसँग आफुलाई प्रतिस्पर्धा गराउनुपर्ने हरेक नागरिकको बाध्यता छ । तर राजनीतिक दल र जनप्रतिनिधिहरु निर्वाचनमा दिएका वाचा पुरा गर्न तयार छैनन् । जनताका आवश्यकताहरु रोजगार, शिक्षा, स्वास्थ्य र विकास जस्ता कुराहरु समय अनुसार प्रयाप्त छैनन् । भलै विकासै नभएको अवस्था भने हैन । जनताका आवश्यकता पुरा गर्न विकासोन्मुख देशले सकेको छैन । यसका आर्थिक, प्राविधिक र नीतिगत समस्याहरु होलान् तर जनतामा निराशाको ठूलो खाडल यसले बनाएको देखिन्छ । यसमा जिम्मेवार आम मिडिया पनि छ । देशमा केहि भएन, भ्रष्टाचार मात्र भयो भनेर प्रचार प्रसार गर्ने र सकारात्मक कुरालाई प्रचारमा ल्याउन नसक्दा देशमा अत्यधिक निराशा बढेको हो ।
युवाहरूलाई बुझाउन नसक्नु
नयाँ पुस्ता र पुरानो पुस्ताका बीचमा भएको खालीपन अहिलेको अर्को समस्या हो । स्कुल पढ्न बालबालिकालाई पठाउने, सरकार कसरी चल्छ ? विकास कसरी हुन्छ ? राज्यका संरचनाले कसरी काम गर्छन् ? जस्ता विषयमा हामीले युवा पुस्तालाई सिकाएकै छैनौं । नत स्कुल नत घरमा संस्कार, संस्कृति, राजनीतिक व्यवस्था, प्रशासनीक व्यवस्था, भौगोलिक राजनीति, कुटनीतिगत अवस्थाका बारेमा सिकाईयो नत व्यवहारिक ज्ञानमा उनीहरुलाई लगाउन सकियो । जसका कारण उनीहरुमा खालीपन (ग्याप) देखिएको छ । यो ग्याप पुरा गर्न सकिएन भने ठूलो दुर्घटना हुन सक्ने खतरा छ । युवाहरूको आवाज, क्षमता र आवश्यकता राजनीतिक नेतृत्वले पर्याप्त रूपमा नबुझ्नु समस्या त छदैंछ हामी अभिभावकले बालबालिकालाई दिईने शिक्षा, संस्कार पनि उत्तिकै महत्वपूर्ण छ । हाम्रा शैक्षिक संस्थाहरुले पनि यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।
नकारात्मक प्रचार प्रसार
पछिल्लो समयको सबैभन्दा ठूलो समस्या सोसल मिडियामा नकारात्मक कुराहरु बढी फैलिनु हो । गालीगलौज, अश्लिल शब्दहरुको प्रयोगका कारण हरेक मानिसमा यसको छाप परिरहेको छ । सामाजिक सञ्जाललाई भरपर्दो सूचना मानिदिने जमातका कारण पनि राजनीतिक, सामाजिक व्यक्तिहरुको छवी धुमिलिएको छ । सूचनालाई सहि प्रयोग गर्न नसक्दा र सहि सूचना हेर्न नपाउँदा नकारात्मकताको विकास भएको देखिन्छ । सामाजिक सञ्जालमा गरिने गाली गलौज, अपमान, हिंसा जस्ता कुराहरुले दलहरुलाई नै असर गरिरहेको छ ।
धेरैलाई लाग्न सक्छ सबै राजनीतिसँग किन जोडियो ? यो गम्भिर प्रश्न पनि हो । सबै व्यवस्था र अवस्थालाई नेतृत्व प्रदान गर्ने भनेकै राजनीति नै हो । जब राजनीति र राजनीति गर्ने व्यक्तिहरु सफा, स्वच्छ बन्दै जान्छन् समाज सुन्दर बन्दै जान्छ । त्यसैले राजनीतिमा सकारात्मक कुरा फैलाउन सबै क्षेत्र, विचार, उमेर, लिंग, जात, धर्म, स्वभाव, क्षमता लगाएतलाई समेटेर अगाडि बढ्न जरुरी छ । सकारात्मकतालाई प्राथमिकता दिनु आवश्यक छ । गाली गलौज र अनर्गल प्रचारलाई छोडेर अब दलहरुले आफ्ना नीति, कार्यक्रम, उद्देश्य, विचारहरु लिएर जनतामाझ जाने बेला हो । एकले अर्कालाई हिलो छ्याप्न नछोडे देशको भविष्य नै अन्धकार हुन सक्छ । पुरानो पुस्तासँगै नयाँ पुस्तालाई जोड्दै अगाडि बढ्ने बेला हो । हिजो भएका कमीकमजोरी सुधारेर अगाडि बढ्न सके लोकतन्त्र, संविधान र देशको रक्षा हुनेछ । राष्ट्रिय मुद्दामा राजनीतिक दलहरु एकतावद्ध हुनुको विकल्प छैन ।





















