सिन्धुली । प्रहरीले हरिहरपुरगढी गाउँपालिकामा अवैध रुपमा गरिएको गाँजा खेति फँडानी गरेको छ । सोमबार र मंगलबार प्रहरीले हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ को अँधेरी र मोक्तानडाँडामा लगाईएको गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुलीको संयुक्त टोली परिचालन गर्ने जिल्ला सुरक्षा समितिको मंसिर १४ गतेको निर्णय बमोजिम खटिएको टोलीले ३ हेक्टर जमिनको गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुबेदीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटेका ६ जना, इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएका ६ जना, प्रहरी चौकी क्यानेश्वरबाट खटिएका २ जना गरी १४ जना र शसस्त्र प्रहरी बल आश्रित गुल्म सिन्धुलीबाट खटिएका १५ जना गरि २९ जनाको टोलीले गाँजा फँडानी गरेको हो ।
प्रहरीले मंसिर १६ र १७ गते अँधेरीमा लगाईएको २ हेक्टर क्षेत्रफलको गाँजा र मोक्तानडाँडामा एक हेक्टर जमिनमा लगाईएको गाँजा नष्ट गरेको सुवेदीले जानकारी दिएका छन् । प्रहरीले हरिहरपुरगढी गाउँपालिका वडा नं. ६, ७ र ८ मा गाँजा खेती गरेको सुराकीको आधारमा गाँजा फाँड्न टोली खटाएको थियो ।





















