सिन्धुली । सिन्धुलीमाढीमा ३४ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाईएको छ । अपांगता अधिकारका क्षेत्रमा जिल्लामा क्रियाशिल संघसंस्थाहरुको आयोजनामा बुधबार सिन्धुलीमाढीमा यो दिवस मनाईएको हो ।
सिन्धुलीमाढी बजारमा प्रभातफेरीका साथै अपांगता भएका व्यक्तिहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान गरेर यो दिवस मनाईएको हो ।
सिन्धुली अपांग महिला संघ, सिन्धुली अपांग संघ, अपांग कल्याण संघ, बौद्धिक अपांग अभिभावक संघ, सिन्धुली बहिरा संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा कमलामाई नगरपालिका, प्लान नेपाल, ह्याण्डस नेपाल र जनजाती समाज विकास कार्यक्रमको संयुक्त सहयोग रहेको थियो ।
कार्यक्रममा अपांगता भएका र समाजमा प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा उदाहरणीय जोडी टिनु तामाङको जोडी, सफल उद्यमी इच्छे सार्की र अपांगता अधिकारका क्षेत्रमा क्रियाशिल किरण श्रेष्ठ रहेका छन् । उनीहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा कलाघर सिन्धुलीका कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए ।
सिन्धुली अपांग महिला संघका अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) को अध्यक्षता एवम् कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पोखरेलले समाजमा अपांगता भएका व्यक्ति लगाएत सबैलाई हुने भेदभावलाई हटाएर समान अवसर र प्रेरणा दिलाउन आवश्यक रहेको बताए । पोखरेलले अपांगता, लिंग, वर्ण, जातका आधारमा विदेभ नगरि कानुनी व्यवस्थालाई कार्यान्वयनमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले अपांगता भएका व्यक्तिहरुलाई मनोवल बढाउन आवश्यक रहेको बताईन् । कार्कीले मनदेखि अपांग छु, केहि गर्न सक्दिन भन्ने मनोविज्ञानबाट बाहिर निस्कन आग्रह गरेकी छिन् । उनले अपांगता छु भनेर कमजोर महसुस नगरि समाजलाई प्रेरणा दिने व्यक्ति बन्न अनुरोध गरेकी छिन् ।
























