सिन्धुली । नेकपा एमालेले जिल्लाका नौ वटै स्थानीय तहमा जनप्रदर्शन गरेको छ । एमालेका केन्द्रीय, जिल्ला तथा प्रदेशका नेताहरुको नेतृत्वमा नौ वटै स्थानीय तहमा बाईक ¥याली तथा कोणसभा गरिएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना, लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागि जनजागरण अभियान अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहमा कार्यक्रम गरिएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताएका छन् । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका नौ वटै स्थानीय तहमा मोटरसाईकल ¥याली तथा सभा गरिएको उनले बताएका छन् ।
कमलामाई नगरपालिकामा सिन्धुलीमाढीबाट कमलामाई नगरपालिका १४ चन्दनपुरसम्म बाईक ¥यालीको आयोजना गरिएको छ । कमलामाई नगरपालिकामा केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारले नेतृत्व गरेका छन् । केन्द्रीय सल्लाहकार मिथिला फुयाँल, प्रदेश कमिटी सदस्य विनोदकुमार खड्का, मञ्जु देवकोटा, जिल्ला उपाध्यक्ष कर्ण घिसिङ, उपसचिव पार्वती भट्टराई, कमलामाई नगरपालिका अध्यक्ष सुन्दर घिसिङ सहितको नेतृत्वमा ¥याली तथा सभा गरिएको छ ।
फिक्कल गाउँपालिकामा केन्द्रीय सदस्य मनोजजंग थापा, प्रदेश कमिटी सदस्यहरु प्रदिप कटुवाल, धनबहादुर कार्कीले नेतृत्व गरेका छन । जहाँ मोटरसाईकल ¥याली र कोणसभा भएको फिक्कल गाउँपालिका उपाध्यक्ष एवम् एमाले नेता राजु बरालले जनाएका छन ।
दुधौली नगरपालिकामा केन्द्रीय सदस्य गणेश कुमार पहाडीको नेतृत्वमा मोटरसाईकल ¥याली तथा सभा गरिएको छ । त्यस्तै कार्तिकमा आएको वर्षाका कारण धानबालीमा भएको क्षतिले पारेको असर र क्षतिपूर्तिको लागि दुधौली नगरपालिकामा ज्ञापनपत्र बुझाईएको छ ।
मरिण गाउँपालिकामा केन्द्रीय सदस्य कमलजंग राईको नेतृत्वमा मोटरसाइकल ¥याली तथा सभा भएको छ । तिनपाटनमा केन्द्रीय सदस्य उमा कोईराला, प्रदेश कमिटी सदस्य प्रलाद कुमार पोखेरलको नेतृत्वमा मोटरसाईकल ¥याली तथा सभा भएको छ ।
सुनकोशी गाउँपालिकामा केन्द्रीय सदस्य निरु कुमारी दर्लामी, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको नेतृत्वमा मोटरसाईकल ¥याली तथा सभा सम्पन्न भएको छ । गोलञ्जोर गाउँपालिकामा केन्द्रीय सदस्य सुवास देवकोटाले मोटरसाईकल ¥याली तथा सभाको नेतृत्व गरे ।
यस्तै हरिहरपुरगढीमा बागमती प्रदेश कमिटी सदस्य शान्तीमान कार्कीले नेतृत्व गरे भने घ्याङ्लेख गाउँपालिकामा बागमती प्रदेश कमिटी सदस्य कौशल कोईरालाको नेतृत्वमा मोटरसाईकल ¥याली तथा सभा सम्पन्न भएको एमाले अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेकपा एमालेले कार्तिक २२ गते जिल्लाका सबै वडामा विस्तारित बैठक तथा भेलाको आयोजना गरेको छ । कार्तिक २९ गते देशभरका सबै जिल्लामा एकै पटक ¥याली तथा सभाहरुको आयोजना हुनेछन् ।























