सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण र पावर हाउस निर्माणको काममा अत्यधिक ढिलाई भएसँगै नेपाल सरकारले निर्माण कम्पनी रमण पटेल जेभिसँग ठेक्का तोडेको छ । सोमबार सिंचाई विभागले निर्माण कम्पनीसँग ठेक्का तोड्ने निर्णय गरेको हो ।
सुरुङ छिचोलिएको डेढ वर्ष नाघि सक्दा पनि बाँध निर्माणले गति लिन नसकेको र पटक पटक ताकेता गर्दा समेत काम उत्साहजनक रुपमा अगाडि नबढेसँगै सरकारले ठेक्का तोड्ने निर्णय गरेको हो ।
आयोजनाको बाँध निर्माण, तथा पावर हाउस निर्माणको जिम्मा लिएको पटेल रमण जेभिले समयमा काम नगर्दा काममा ढिलाई भएको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ ।
सम्झौताको ३४ महिनामा ११ प्रतिशत मात्र भौतिक प्रगति गरेको आयोजनाका इन्जिनियर अशोकराज गौतमले बताएका छन् । उनका अनुसार आयोजनाको मोविलाईजेसन पेश्की सहित १५ दशमलब २ प्रतिशत मात्र आर्थिक प्रगति भएको छ ।
आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीले कार्यसम्पादन जमानतवापत राखेको दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड गरी तीन अर्ब ६० करोड रुपियाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको जनाएको छ ।
आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण, हात्तिटारमा रहेको माझी बस्तीको जग्गा उकास, विपी राजमार्ग डाईभर्सन रोड निर्माण र विद्युतको पावर हाउस तथा सर्जसफ्ट निर्माणका लागि निर्माण कम्पनीले जनवरी १, २०२३ मा आयोजनाको कामको ठेक्का लिएको थियो । सम्झौताको १६ सय ५० दिन अर्थात साढे चार वर्ष उक्त ठेक्काको अवधि रहेको थियो ।
अनुमानित लागत भन्दा ३२ प्रतिशत कम रकम अर्थात १४ अर्व ७ करोड ५९ लाख ९ हजार ३ सय १९ रुपैंयामा ठेक्का लिएको निर्माण कम्पनीले विभिन्न बाहना देखाउँदै काममा तदारुकता नदेखाएका कारण ठेक्का तोड्नु परेको आयोजनाले जनाएको छ ।
आयोजनाले जग्गा प्राप्ती, वन र सडकसँग जोडिएका समस्या समाधान गर्न सहजीकरण गरे पनि निर्माण कम्पनीले निर्माणको काममा गति दिन सकेको थिएन । निर्माणको कामप्रति असन्तुष्टी जनाउँदै आयोजनाले पटक पटक निर्माणमा ताकेता गरेको थियो भने पटक पटक छलफल र अनुगमन समेत गरेको थियो । ठेक्का तोडिएसँगै सिंचाई विभागले कामको मुल्यांकन गर्ने छ र नयाँ ठेक्काको प्रक्रियामा जाने छ । यसो गर्दा कम्तिमा ३, ४ महिना समय लाग्ने गौतमले बताए ।
सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १ सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३.३ किलोमिटर लम्बाइको सुरुङ मार्फत कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा पानी खसालिने गरि आयोजनाको निर्माण सुरु भएको थियो ।
सुनकोशीमा ६६.२९ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेघावाट विद्युत् उत्पादन गरिने आयोजनाको लक्ष छ भने मरिणमा झारिएको पानी बागमतीमा मिसाई बागमती सिंचाई आयोजना मार्फत तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउने सरकारको लक्ष छ ।
सुरुङको ‘ब्रेक थ्रु’ २२ महिनाभित्र गर्ने लक्ष्य सरकारको थियो । सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनबाट १८ महिनामा ०८१ वैशाख २६ मा सुरुङ निर्माणको काम सकेको थियो । अहिले सुरुङ फिनिसिङको सबै काम सकिएको छ ।




















