सिन्धुली । कमला नदीमा डुबेर विहिबार एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका वडा नं. १० कर्था बस्ने ५१ वर्षिय लिल बहादुर सार्कीको कमला नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
बुधबार गाईगोरु चराउनको लागि कमला नदीतर्फ गएका सार्की घर नफर्किएपछि बिहिबार सार्कीको घरपरिवारले खोजतलासी गरेको थियो । खोज्ने क्रममा घरदेखि करिब ७ सय मिटर पर कमला नदीको छेउमा रहेको दहमा घोप्टो परी पानीमा तैरीरहेको अवस्थामा शव फेला पारेका थिए ।
सार्कीलाई मृत अवस्थामा भेटेपछि परिवारले प्रहरी चौकी दुधौलीमा खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय डकाहाले थप अनुसन्धान गरिरहेको सुवेदीले जानकारी दिए ।




















