सिन्धुली । जेन्जी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र जनधनको क्षति गर्न उक्साउने र गराउने काठमान्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध अनेरास्ववियु सिन्धुलीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दिएको छ ।
अनेरास्ववियु सिन्धुलीका संयोजक अजय दोङ तामाङले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका हुन । सिन्धुलीका सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुको व्यक्तिगत घरमा आगजनी, लुटपाट र तोडफोड गर्न उकासेको र आगजनी गर्न प्रेरित गरेको भन्दै दोङले उजुरी दिएका हुन ।
बालेन्द्र शााह (बालेन), सुदन गुरुङ लगाायतका व्यक्तिहरुको नेतृत्वमा भएको अपराधिक घटनाको निष्पक्ष छानबिन गरि कारवाही गर्न अनेरास्ववियुले माग गरेको छ ।
जाहेरी पत्रमा ‘आन्दोलनको नाममा सार्वजनिक सम्पत्तिको नाश, युवाहरुलाई उक्साई भिडमा सहभागि गराउने, भिडको आडमा हिंसात्मक कार्य गराउने, चोरी गर्ने, डकैती गर्ने, लुटपाट र निर्दाेष विद्यार्थी तथा सर्वसाधारणको ज्यान जाने गरि मुडभेडमा संलग्न गराई हत्या गरिएको‘ अभियोग लगाईएको छ ।
तामाङले दिएको जाहेरीमा राजनीतिक आन्दोलनको नाममा राष्ट्रको सम्पत्ति जलाउने, तोडफोड गर्ने, व्यक्तिको ज्यान लिने कार्य कुनै पनि हालतमा स्वीकार्य नरहेको उल्लेख गरिएको छ ।
जाहेरीमा घटनासँग सम्बन्धित भिडियो, फोटो लगााएतका प्रमाणहरु पनि संलग्न रहेको उल्लेख गरिएको छ । जेन्जी आन्दोलनमा सार्वजनिकदेखि निजि सम्पत्ति समेत नष्ट गरेका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ला अदालत सिन्धुली, मालपोत कार्यालय, कमलामाई नगरपालिका कार्यालय, जिल्ला समन्वय समिति सिन्धुली, कमलामाई नगरपालिकाका ४, ५ र ५ का वडा कार्यालय, करदाता सेवा कार्यालय सिन्धुली, नेपाल बार यशोसियसनको कार्यालय, नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसका पार्टी कार्यालय, कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल, नेकपा एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, बागमति प्रदेशसभा सदस्य क्षेत्र बहादुर बम्जन, प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरे, लेखनाथ दाहाल, कमलामाई नगरपालिकाका पूर्व मेयर खड्ग खत्री लगाएतको घरमा तोडफोड लुटपाट र आगजनी गरिएको थियो ।
अनेरास्ववियुले देशभरीका जिल्ला प्रहरी कार्यालयमा विहिबार एकैपटक किटानी जाहेरी दिएको अनेरास्ववियुका बागमती प्रदेश अध्यक्ष लाल बहादुर बुढाथोकीले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जाहेरी बुझेका छन । डिएसपी सुबेदीले देशभरी नै उजुरी आएको र उजुरी जेनजी आन्दोलन छानविन गर्न गठित जाँचबुझ आयोगमा पठाउने बताएको अनेरास्ववियु सिन्धुलीका संयोजक तामाङले बताएका छन ।





















