सिन्धुली । तीनदिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुलीको जनजीवन कष्टकर बन्दै गएको छ । वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरो र बाढीका कारण विपी राजमार्ग र मध्यपहाडी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन ।

यस्तै विपी राजमार्गको सुनकोशी गाउँपालिका ६ कानढुंग्रे, सुनकोशी गाउँपालिका वडा नं. १ गजुली दहमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । यस्तै नेपालथोकमा रोशी खोलाले विपी राजमार्ग बगाएको छ । रोशी खोलाले गतवर्ष बगाएको बाटोको काभ्रे र सिन्धुली खण्डका विभिन्न ठाउँमा कटान गरि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै स्थानीय प्रशासनले मदनभण्डारी राजमार्गमा समेत यातायात सञ्चालनमा रोक लगाएको छ । दिनभर पूर्वी पहाड र पूर्वी तराईबाट काठमान्डौ जान लागेको यात्रुवाहक सवारी साधनलाई सिन्धुलीमाढीमा होल्ड गरि फर्काएको छ ।
हेटौडा हुँदै काठमान्डौ भित्रने सडकहरु समेत बन्द भएपछि सवारी साधनहरु सिन्धुलीबाटै फिर्ता गरिएको छ । पानी परिरहेका कारण सडकहरु पन्छाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















