सिन्धुली । नेकपा एमाले सिन्धुलीले संविधान दिवस २०७२ को अवसरमा नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा ¥याली गरेको छ । शुक्रबार नेकपा एमाले सिन्धुलीले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं भन्ने सन्देश सहित सद्भाव ¥याली गरेको हो ।
नेकपा एमाले सिन्धुलीको पार्टी कार्यालयबाट सुरु भएको ¥याली माढी बजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा गई कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य गणेश कुमार पहाडीले जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा नेपाल प्रहरीले नचलाउने स्वचालित हतियारबाट कसरी गोली चल्यो यसको छानविन हुनुपर्नेमा जोड दिए । उनले भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन गरि आयोगको निश्कर्षको आधारमा कारवाहि गर्न सरकारसँग माग गरेका छन ।
कार्यपालिका, व्यवस्थापिकाका, न्यायपालिकाका, संवैधानिक अंगका कार्यालयहरु, नेताका घरहरु, व्यक्तिगत सम्पत्ति तोडफोड, लुटपाट र आगजनी जेनजीहरुले गर्न नसक्ने बताउँदै आन्दोलनमा घुसपैठ कहाँबाट भयो खोजी हुनुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समयमा संविधान च्यात्ने, जलाउने काम भएको बताउँदै राजनीतिक स्थायीत्व र संविधानको रक्षाका लागि सम्पूर्ण राजनीतिक दल एकतावद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले वर्तमान संविधानलाई रक्षा गर्दै प्रभावकारी बनाई अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई अनुरोध समेत गरेका छन ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले नेपालको संविधानप्रति नेकपा एमाले प्रतिवद्ध रहेको बताएका छन । सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र एकताको विरुद्धमा धावा बोल्ने कुनै पनि शक्तिको विरुद्धमा नेकपा एमाले जुटेर अगाडि बढ्ने बताएका छन । श्रेष्ठले लोकतान्त्रिक शक्तिहरुलाई लोकतन्त्र र संविधानको रक्षाका लागि एकतावद्ध भएर अगाडी बढ्न अपिल समेत गरेका छन ।





















