सिन्धुली । दुधौली नगरपालिकाको भौंडीमा आफ्नै छोराले आमाको हत्या गरेका छन । जग्गाको अंश विवादमा दुधौली नगरपालिका वडा नं. १४ भौडीकी ६५ वर्षिय फाल कुमारी सुनुवारको आइतबार दिउँसो आफ्नै छोराले हत्या गरेका हुन ।
मृतक सुनुवारका जेठा छोरा ४० वर्षीया तुलाराज सुनुवारले आमाको घरमा आई आमासँग जग्गा अंश दिन माग गर्ने र झगडा गर्ने क्रममा गलले निधारमा हानेर फालकुमारीको हत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी इन्स्पेक्टर सिमोन धितालले बताईन । मृतक सुनुवार माईली बुहारीसँग बस्दै आएकी थिईन । जेठा छोरा छुट्टै बसेका थिए ।
छुट्टै बसेका छोरा तुलाराजले मदिरा सेवन गर्ने र अंश माग्दै आमासँग पटक पटक घरझगडा गर्दै आएको स्थानीयले बताएको धितालले बताईन ।
उनका अनुसार गलले हानेर मृतकको निधारमा गहिरो चोट लागेको छ । आमा ढलिसकेपछि सुँगुरलाई घोच्ने सुईरोले आमाको पेटमा घोँचेर घाउ समेत बनाएको देखिएको छ ।
आमाको हत्या गरेर भाग्दै गर्दा तुलाराजलाई प्रहरी र स्थानीयको सहयोगमा पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पताल उदयपुर लाने तयारी गरिएको धितालले जानकारी दिएकी छिन ।





















