सिन्धुली । नेपाली सेनाले जिल्लाका दुई ऐतिहासिकस्थल हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको पदयात्रा सुरु गरेको छ । श्री भवानी बक्स गण र हरिहरपुरगढी गाउँपालिकाको सहकार्यमा हरिहरपुरगढीबाट पदयात्रा सुरु गरिएको हो ।

नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला तथा पदमार्गहरुको संरक्षण, पर्यटन प्रवद्र्धन, प्रचारप्रसार गर्नका लागि पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले नेपालको झण्डा र बाजागाजा सहित यात्राको थालनी गरेको छ ।
हरिहरपुगढी गाउँपालिका वडा नं. १ मा रहेको हरिहरपुरगढी किल्लादेखि कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढीसम्मको ७५ किलोमिटर दुरीको पदयात्रा आठ दिनमा सम्पन्न गर्ने गरि पदयात्रा सुरु गरिएको हो ।
भवानी बक्स गणका सेनानी गणेश सागर हमालको नेतृत्वमा ४५ जना नेपाली सेनाहरु पदयात्रामा निस्किएका छन । पदयात्रामा निस्केको टोलीलाई प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा, श्री नं. ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा, भवानी बक्स गणका गणपति बद्री कुँवरले राष्ट्रिय झण्डा प्रदान गरेपछि पदयात्रा सुरु भएको हो ।
प्रजातन्त्र दिवस र सेना दिवसलाई मध्यनजगर गरि सुरु गरिएको पदयात्रा फागुन १४ गते महाशिवरात्री तथा सेना दिवसको अवसरमा सिन्धुलीगढीमा समापन गरिने छ ।



















