सिन्धुली । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ सोमबारबाट सिन्धुलीमाढीमा सुरु भएको छ । ‘राष्ट्रको लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ को उद्घाटन सोमबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले गरे ।
जिल्लाको कमलामाई नगरपालिका ६ खुलामञ्चमा सञ्चालन भएको खेलकुद महोत्सवको पहिलो दिन मैत्रीपूर्ण भलिवल, कबड्डी, सटपुट, १५०० मिटर दौड लगाएतका खेलहरु भएका छन ।
कबड्डीमा महिलातर्फ कमलामाई नगरपालिका र दुधौली नगरपालिका बीच भएको प्रतिस्पर्धामा ३३÷२४ कोे अन्तरले कमलामाई नगरपालिका विजयी भएर नकआउनमा प्रवेश गरेको छ । यस्तै फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिकाको बीच भएको प्रतिस्पर्धामा ४३÷३७ को अन्तरले सुनकोशी गाउँपालिका विजयी भई नकआउट चरणमा प्रवेश गरेको छ ।
एथलेटिक्सतर्फ १५०० मिटर दौड र सटपुट खेल भएका छन । १५०० मिटर दौडमा कमलामाई नगरपालिका, दुधौली नगपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । जसमा महिलातर्फ सुनकोशी गाउँपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ । त्यसैगरि पुरुषतर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र सुनकोशी गाउपालिका तेस्रो भएको छ ।
सटपुटको महिलातर्फ फिक्कल गाउँपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भए भने पुरुषतर्फ फिक्कल गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो, तीनपाटन गाउँपालिका तेस्रो भएको छ ।
खेलको सुरुमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरिएको थियो । सिन्धुली भलिवल टिम र वर्द बहादुर गणबीच भएको मैत्रीपूर्ण भलिवलमा सिन्धुली भलिवल टिम विजयी भएको थियो ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार विहान ८ बजेबाट खेल सुरु हुने सञ्चार संयोजक जिवि श्रेष्ठले बताए । फागुन ५ गते देखि १३ सम्म सञ्चालन हुने महोत्सवमा भलिबल, फुटबल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ गरि १० वटा खेलहरु हुनेछन् । खेलमा विभिन्न विधाका १ हजार ३ सय ३३ खेलाडी सहभागि भईरहेका छन ।





















