सिन्धुली । असोज ११ र १२ गतेको वर्षा, बाढी र पहिरोका अवरुद्ध मध्यपहाडी राजमार्ग सुचारु भएको छ । राजमार्गको घुर्मि खुर्कोट सडकखण्ड एकतर्फी रुपमा विहिबार दिउँसोदेखि सुचारु भएको हो । लगातार चार दिनदेखि फिक्कल र गोलञ्जोरबाट ४ वटा जेसीवि स्काईभेटरको प्रयोग गरि पहिरो पन्छाएपछि सडक सुचारु गरिएको थियो ।
फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाले घुर्मी र खुर्कोट दुबैतर्फबाट सडक खुलाउन मेसिन प्रयोग गरिएको थियो । राजमार्ग खुले पनि पहिरोका कारण जोखिम भने कायमै रहेको छ । खुर्कोट–घुर्मी करिब ६० किलोमिटर सडकका दर्जनौँ स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो ।
बाढी पहिरोले मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्डस्थित अक्करेभिर, हैबारबेसी, बलेनी, मुर्कीबेसी, कुखुरेटार, कुडुले, सुमनामबेसी, नवलपुर, निगुरेखोला, पंचकन्या लगायत दर्जनौँ स्थानमा पहिरो खसेको थियो । पहिरो पन्छाउन स्थानीय प्रशासन, स्थानीय निकाय, सडक कार्यालय तथा स्थानीय बासिन्दाहरु सक्रिय भएका थिए ।
खुर्कोट–घुर्मी खण्ड सुचारु भएसँगै खोटाङ, ओखलढुङ्गा सोलुखुम्बु, भोजपुर लगायतका पुर्वी पहाडी जिल्लाहरुमा जान आउन आउन बाटो खुलेको छ ।





















