सिन्धुली । बाढीले क्षतिग्रस्त क्षेत्रका पीडितहरुलाई राहत दिन राहत संकलन सुरु भएको छ । गैह्र खाद्यान्न राहत रेडक्रसले व्यवस्था गर्नेछ भने खाद्यान्न राहतका लागि सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले पहल कदमी उठाएको छ ।
संघले राहत संकलनको काम सुरु गरिसकेको छ । एकद्धार प्रणालीबाट राहत संकलन र हस्तान्तरण गर्ने जिल्ला विपद व्यवस्थापन समितिको सोमबारको निर्णय अनुसार जिल्ला विपद व्यवस्थापन समितिमा संकलन हुने गरि राहत संकलन भएको हो ।
संघमार्फत रोवन सप्लायर्सले मंगलबार १ सय ११ परिवारलाई दिने गरि राहत उपलब्ध गराएको छ । सप्लायर्सले २५ केजीको १११ बोरा चामल, २२२ प्याकेट सोयाविन, १११ प्याकेट आयो नुन, १११ लिटर सनफ्लावर तेल, यम्मी चाउचाउ १६६५ प्याकेट, १ केजीको मुसुरोको दाल १११ प्याकेट, दालमोठ १ केजीको १११ प्याकेट, ताईचिन चिउरा १ केजीको २२२ केजी खाद्यान्न सामग्री उपलब्ध गराएको हो । रविन सप्लायर्सका प्रोपाईटर जय कुमार दासले उक्त खाद्य सामग्री प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मालाई हस्तान्तरण गरेका छन ।
यस्तै सिन्धुली उद्योग वाणिज्य संघको पहलमा सोमबार नै बाढी पीडितका लागि वर्दिबास उद्योग वाणिज्य संघले ५१ हजार रुपैंया उपलब्ध गराएको छ । विपद व्यवस्थापन कोषबाट बाढी पीडितलाई राहत दिने गरि बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले उक्त रकम सिन्धुली उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका हुन ।






















