सिन्धुली । जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीले बाढी पहिरो प्रभावित क्षेत्रमा अत्यावश्यक सेवाहरु यथाशिघ्र सञ्चालन गर्ने निर्णय गरेको छ । पहिरो प्रभावित क्षेत्रहरु सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकामा अत्यावश्यक सेवा यथाशिघ्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
विपद प्रभावित क्षेत्रमा खानेपानी, स्वास्थ्य सेवा, विद्यालय, सडक, विद्युत, टेलिफोन लगाएतका सेवा सुविधाहरु यथावत सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको जिम्मेवारी विषयगत कार्यालयको हुने निर्णय भएको छ ।
यस्तै बैठकले दु्रत गतिमा तथ्यांक संकलन गर्ने, तथ्यांकको विश्लेषण गर्ने र सोहि अनुसार राहत वितरण गर्ने निर्णय गरेको छ । तथ्यांक संकलन गर्दा वडाहरु मार्फत त्रुटिरहित तथ्यांक संकलन गर्ने, स्थानीय तहले प्रमाणित गर्ने र जिल्ला विपद व्यवस्थापन समितिमा उपलब्ध गराउने निर्णय भएको छ । तथ्यांक संकलन गर्दा प्रहरीको मुजुल्कालाई समेत प्राथमिकतामा राखेर गर्ने निर्णय भएको छ ।
बैठकले तथ्यांकका आधारमा जिल्लामा विपद प्रभावितलाई आउने राहत एकद्धार प्रणाली मार्फत उपलब्ध गराउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले राहत वितरणलाई एकद्धार प्रणाली मार्फत गर्ने निर्णय गरेको हो । विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले तथ्यांक संकलन गर्दा नछुट्ने र नदोहोरिने गरि त्रुटि रहित तथ्यांक संकलन गर्न सबै स्थानीय तहका प्रतिनिधिहरु, वडा कार्यालयहरुलाई आग्रह गरेका छन ।
शर्माले तथ्यांक संकलन गर्दा प्रहरीसँग समन्वय गरेर मुजुल्का गर्न, विषयगत कार्यालयले भएका गरेका कामको जानकारी यथाशिघ्र गराउन समेत आग्रह गरेका छन ।





















