सिन्धुली । जिल्ला सहकारी संघ सिन्धुलीले ३१ औं स्थापना दिवस तथा ३१ औं वार्षिक साधारणसभा आइतबार सिन्धुलीमाढीमा सम्पन्न गरेको छ । संघका अध्यक्ष नवराज कोईरालाको अध्यक्षता एवम राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.वि. बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा जिल्लाका उत्कृष्ट सहकारी, वचतकर्ता संस्थाहरुलाई सम्मान गरिएको छ ।
जिल्लाका २७६ सहकारी संस्थाहरु आवद्ध रहेको संघको साधारणसभामा आ.व. २०८०/८१ को १ करोड २५ लाख ७६ हजार १९० रुपैंया बराबरको वित्तिय प्रतिवेदन संघकी कोषाध्यक्ष राधा कार्कीले प्रस्तुत गरिन । प्रतिवेदन प्रस्तुत गर्दै कार्कीले संस्थाले सम्पूर्ण खर्च कटाएर २ लाख ४२ हजार २८४ रुपैंया ४० पैसा खुद बचत गरेको समेत उल्लेख गरिन ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ मा जिल्ला भरमा उत्कृष्ट संंस्थाको रुपमा प्राकृतिक कृषि तथा जडीवुटी कृषि सहकारी संस्था क.न.पा. ९, नियमित बचतकर्ता संस्थाको सम्मान महिला साना किसान कृषि सहकारी संस्था लि. क.न.पा. १४, असल एवं नियमित ऋणी सदस्य सस्था सम्मान जनसेवा वचत तथा ऋण सहकारी संस्था तीनपाटन गाउँपालिका ११ चकमकेले प्राप्त गरेका छन । यस्तै साधारणसभामा उत्कृष्ट व्यवस्थापक सम्मान दीपमाला महिला वचत तथा ऋण सहकारी संस्था सुनकोशी ३ का व्यवस्थापक गोमा चौलागाईलाई प्रदान गरिएको छ ।
कार्यक्रमको अवसरमा सहकारी अभियन्ता राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.वि.वस्नेतलाई सिन्धुलीय सहकारी अभियानको तर्फबाट अभिनन्दन समेत गरिएको छ ।
साधारणसभाले संघका निस्कृय दुई पालिकाका संचालक परिवर्तन गरि मरिण गाउँपालिकाका संह संयोजक मानवहादुर भुजेल र सुनकोशी गाउँपालिकाका संयोजक रोशनराज गिरीलाई संचालकमा पद मनोनित गरेको छ ।
कार्यक्रममा संघका सचिव खडानन्द तिमल्सिनाले प्रगति प्रतिवेदन पेश गरेका थिए भने लेखा प्रतिवेदन लेखा संयोजक वद्रिनारायण श्रेष्ठले प्रस्तुत गरेका थिए । साधारणसभामा कमलामाई नगर सहकारी शाखा प्रमुख मुकेश तामाङ, करदाता सेवा कार्यालय सिन्धुलीका कर अधिकृत प्रविणा भण्डारी, उद्योग वाणिज्य सघका कोषाध्यक्ष कुलवहादुर थापा तथा सिन्धुली वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष मोहन वहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव अशोक श्रेष्ठले गरेका थिए ।





















