सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम बागमति प्रदेश इन्चार्ज डा. राजन भट्टराईले मुलुकका मुख्य ठूला परिवर्तन नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त प्रयासबाट मात्र सम्भव भएको बताए । नेकपा एमाले सिन्धुलीले आयोजना गरेको पार्टी प्रवेश तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्न बुधबार सिन्धुली आएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै मुलुकका हरेक परिवर्तन एमाले कांग्रेस मिलेरै सम्भव भएको बताए ।
पछिल्लो सत्ता सहकार्य पनि त्यसैको एउटा पाटो रहेको बताए । प्रेस चौतारी नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पछिल्लो समय मुलुक आर्थिक, राजनीतिक अस्थिरता र सामाजिक सद्भाव खल्वलिएर संकटमा परेको बताउँदै उनले एमाले कांग्रेसबीचको सहकार्य सुशासन कायम गर्न, आर्थिक संकट टार्न, राजनीतिक स्थिरता कायम गर्न र सामाजिक सद्भावलाई जोगाउन भएको बताए ।
एमाले कांग्रेसको सहकार्यमा बनेको सरकारले उद्देश्य अनुरुप काम गरेको बताउँदै केहि आर्थिक सूचकहरुमा सकारात्मक संकेत समेत देखिएको दावी गरे । भट्टराईले आगामी निर्वाचनसम्म एमाले कांग्रेसको सत्ता समिकरण कायम रहने समेत बताएका छन । २०८४ को चुनावमा भने एमाले कांग्रेस नै मुख्य प्रतिस्पर्धी रहने बताए ।
नेकपा एमालेका पूर्व विदेश विभागमा समेत रहेका भट्टराईले छिमेकी राष्ट्र र अन्य देशहरुसँग असंलग्न परराष्ट्र नीति नै नेपालले अबलम्बन गर्ने बताए । उनले नेपाल भारतका बीचमा भएका असमझदारीलाई भने सम्वाद र छलफलका माध्यमबाट निष्कर्षमा पु¥याउने गरि सरकारले काम गर्ने दावी गरे ।





















