सिन्धुली । नेकपा एमालेको मंसिर १४ गतेबाट जारी मध्यपहाडी राजमार्गको समृद्धि यात्रामा अध्यक्ष केपी ओली नेतृत्वको टिमलाई स्वागत गर्न नेकपा एमाले सिन्धुलीले तयारी पुरा गरेको छ ।
ओलीको मंगलबार विहान ८ बजे सिन्धुलीको खुर्काेटमा स्वागतका लागि तयारी गरिएको नेकपा एमाले सिन्धुलीले जनाएको छ । स्वागत तथा भेटघाट लगाएतका कार्यक्रम तय गरेको नेकपा एमाले सिन्धुलीको नेतृत्व खुर्कोटमा पुगिसकेको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा हिडेको नेकपा एमालेको टोली रामेछापबाट मंगलबार विहान खुर्कोटमा आउने छ । टोलीले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नेछ । आयोजनाले पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई आयोजनाको प्रगतिका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
ओली नेतृत्वको टोलीले खुर्कोटमा नेकपा एमालेका नेता कार्यकर्तासँग भेटघाट गर्ने लगाएतका कार्यक्रम तय गरिएको छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित मध्य पहाडी राजमार्गको भ्रमणमा छ ।
स्वागतका लागि स्वागतद्धार निर्माण, मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, तथा अन्य व्यवस्थापकीय काम सकिएको पार्टी सचिव नारायण बरालले जानकारी दिएका छन ।
जनसंगठनका पदाधिकारीहरु, पार्टीका केन्द्रीय, प्रदेश र जिल्लाको नेतृत्व लगाएत कार्यक्रम स्थलमा पुगिसकेको छ । सिन्धुलीको टोलीले ओलीलाई कोशी प्रदेशको ओखलढुंगाको हर्कपुरमा हुने सभास्थलसम्म पुराएर फर्कने तयारी गरेको छ ।
खुर्कोटमा सांस्कृतिक टोली र कलाघर सिन्धुलीको टोलीले सांस्कृतिक प्रस्तुति दिने, ग्वालटार सहिद बाबुराम बरालको शालिकमा माल्यार्पण, फिक्कलमा सामान्य भेटघाट हुदै ओली नेतृत्वको टोली अगाडि बढ्ने कार्यक्रम रहेको छ ।





















