सिन्धुली । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आइतबार सिन्धुलीमाढीमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । कमलामाई नगरपालिकाको आयोजना, प्लान नेपाल, वल्र्डभिजन, नाटान, रिलिफ नेपाल, मानव तथा राष्ट्रिय विकास समाज सिन्धुली, सिन्धुली अपांग महिला संघ, इन्सेक लगायतका संस्थाहरुको संस्थाहरूसँगको समन्वयमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा बाग्मति प्रदेश बाल अधिकार समितिले समेत सहभागिता जनाएको समितिका सदस्य प्रकाश खतिवडा बताए ।
यस्तै दिवसका अवसरमा मानव अधिकार एलाइन्स र रिलिफ नेपाल सिन्धुलीले १० जना भिन्न क्षमता भएका बालबालिकाहरूलाई पोशाक वितरण समेत गरेको छ ।
नवज्योती बहिरा माध्यमिक विद्यालय कमलामाई नगरपालिका ६ जसेदमारमा अध्ययनरत भिन्न क्षमता भएका बालबालिकाहरूलाई पोशाक वितरण गरेको मानव अधिकार एलाइन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले बताए ।
कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले सम्बोधन गरेका थिए । उनले कमलामाई नगरपालिकामा मानवअधिकार संरक्षण र संवद्र्धनमा सधै क्रियाशिल रहने बताए ।





















