सिन्धुली । नेकपा एमालेका नेता तथा कार्यकर्तालाई अखिल नेपाल महिला संघ सिन्धुलीले तनाव व्यवस्थापन तालिम दिईरहेको छ । नेता कार्यकर्तामा तनाव कम गर्न र सकारात्मक सोंचको विकास गर्नका लागि अनेमसंघले तालिम दिएको हो ।
अनेमसंघले पार्टीका नेताहरु, जनसंगठनका पदाधिकारीहरु, अनेमसंघका पदाधिकारीहरु लगाएत करीब ५५ जनालाई तालिम दिईरहेको छ । दुईदिनसम्म चल्ने उक्त तालिम शुक्रबारदेखि सिन्धुलीमाढीमा सुरु भएको हो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा तालिमको आयोजना गरिएको अनेमसंघका जिल्ला सचिव रमा कार्कीले बताएकी छिन ।
सार्वजनिक र सामाजिक जीवन विताईरहेका व्यक्तिहरुलाई बढी तनाव हुने र महिलाहरुलाई झनै बढी बोझ र तनाव हुने भएकाले तनाव व्यवस्थापन गर्दै अगाडि बढ्न तालिमले सहयोग पुग्ने अनेमसंघका जिल्ला अध्यक्ष पार्वती भट्टराईले बताईन ।
तालिममा मनोविद कञ्चन रावतले प्रशिक्षण दिईरहेकी छिन । तालिममा महिला तथा पुरुष नेताहरुको समान सहभागिता समेत रहेको छ । तालिम शनिबार सम्पन्न हुने छ ।






















