सिन्धुली । खुर्कोटका होटल व्यवसायीलाई एकदिने खाद्य स्वच्छता सम्बन्धि तालिम दिईएको छ । विपी राजमार्ग र मध्यपहाडी राजमार्ग जोडिने स्थानमा भएका होटलहरुका सञ्चालकहरुका लागि तालिम दिईएको छ । होटल व्यवसायी संघ खुर्कोट शाखाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले तालिम दिएको हो ।
तालिममा ४ जना महिला सहित ३१ जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो । तालिममा होटलको सरसफाई, मानव स्वास्थ्यलाई ख्याल गर्दै खाना बनाउन र होटललाई कसरी स्वच्छ सफा र खाना स्वस्थ बनाउने भन्ने विषयमा तालिम दिईएको थियो ।
तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख पुष्पलाल राईले प्रशिक्षण दिएका थिए । उनले तेलको प्रयोग र परिक्षणका बारेमा समेत जानकारी गराएका थिए ।
केहि समय अघि जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले गरेको अनुगमनमा खुर्कोटका लाईन होटलहरुले गुणस्तरहिन खाना खुवाउने गरेको र सरसफाईमा ध्यान नदिएको भेटेको थियो ।





















