सिन्धुली । बेलीमाया गिनेल (३४) सिन्धुलीकी सफल ढाका उद्यमी तथा प्रशिक्षक हुन । उनले जिल्लाभरीका ढाका बुन्ने महिलाहरुको नेतृत्व गरिरहेकी छिन । सामान्य लेखपढ मात्र भएकी गिनेलको आर्थिक अवस्था पनि सामान्य नै हो । पछिल्लो समय उनले ढाकामा आफुलाई स्थापित गरिसकेकी छिन । व्यवसाय सुरु गरेको ८ वर्षमा उनी जिल्लाकै नमुना र सफल ढाका उद्यमी तथा प्रशिक्षक बन्न सफल भएकी छिन ।
मेहनत र सिक्ने इच्छाशक्ति भए सफल बन्न गाह्रो नहुने उनको अनुभव छ । उनी आफु मात्र सफल भएकी छैनन । अन्य १५ जना महिलालाई रोजगारी समेत दिएकी छिन । रोजगारी पाएकाहरुले कामको आधारमा ज्याला पाउँछन ।
२०७२ सालको भुकम्प आसपासमा उनले युएनडिपी, श्री सिन्धुली र डिमेगाको सहयोगमा ३ महिना ढाका बुनाईको तालिम लिएपछि ढाका व्यवसाय सुरु गरेकी हुन । ढाकाको सल बुनेर झोलामा बेच्न हिडेकी गिनेलले १३ हजार रुपैया कमाएपछि मरिणको धमिलेमा ढाका उद्योग खोलिन ।
ढाका उद्योगबाट उनले झोला, टोपी, सल, रुमाल उत्पादन गर्थिन र झोलामा बोकेर बेच्थिन । यसरी झोलामा बोकेर खोजेको बजार विस्तारै उनलाई नै खोज्ने भयो । मरिणमा भएको ढाका बुन्ने उद्योगबाट उनले २ लाख कमाएपछि सदरमुकाम सिन्धुलीमाढी आईन । जिल्लाको सदरमुकामको मुख्य बजार सिन्धुलीमाढीमा ढाका पसल खोलिन । मित भाई हिरण्यलाल श्रेष्ठ (उनी शिक्षक पनि हुन ) ले ६० हजार लगानी थपिदिएपछि उनले २ लाख ६० हजारमा मरिण ढाका पसल खोलेकी हुन । उनलाई झोलामा सामान बेच्नेबाट पसलमा ल्याउन उनै श्रेष्ठको योगदान छ ।
मरिणको कपिलाकोटमा साझा सुविधा केन्द्र स्थापना गरि उनले उद्यमलाई अगाडि बढाईन । मरिण ढाका पसल र साझा सुविधा केन्द्र मरिण उनको पहिचान बन्दै गयो । व्यवसायमा उनका आफ्नै परिवारका सदस्यको भने सहयोग खासै रहेन । ढाका उद्यमी बन्दा आफन्त वरपरकाले लगाएका लाञ्छना उनले सम्झिरहेकी छिन । उनका लागि ती लाञ्छना पनि सफल बन्नका लागि प्रेरणा बने ।
उनी आफै ढाकाको कपडा, साडी बुन्ने, ढाकाका झोला, पर्स, रुमाल, जुत्ता, टोपी, टाई लगाएतका सामान बनाउने गर्छिन । सिप सिक्न पहिलेदेखि नै उत्सुक उनी ढाका बाहेकका सिपमा पनि दक्ष छिन । बाँसका सामग्रीहरु डोको, डालो, नाङ्लो लगाएतका सामग्री बनाउँछिन । यो सँगै परालका गुन्द्री चकटी लगाएत सामान पनि बनाउँछिन । कपडा सिलाउने सिप पनि छ उनीसँग । तर उनलाई ढाकासँगै खेल्न रुचि रह्यो । यसैमा भविष्य देखिन र अगाडि बढिन ।
तेह्र हजारको लगानीमा सुरु भएको ढाका व्यवसायको हाल स्थिर पूँजी नै ६० लाख माथिको छ । १० वटा साडी बुन्ने तान छ । व्याग झोला सिलाउने मेसिन १० वटा छन । सिन्धुलीमाढीमा पसलसँगै उद्योग पनि चल्छ । मासिक ३५ हजार भाडा तिरेर उद्योग र पसल चलाएकी छिन सिन्धुलीमाढीमा । सामान्यतया दैनिक ३०, ३५ हजारको कारोबार हुन्छ । सिजनमा डेढ देखि दुई लाख माथिको कारोबार हुने उनले बताईन । उनका उत्पादनको माग स्वदेश तथा विदेशमा उत्तिकै छ । सिन्धुली बाहेक काठमान्डौको ठमेल, सुर्खेतमा उनले सामान पठाउँछिन । यस्तै जापान, अमेरिका, अष्ट्रेलियामा सामान निर्यात गर्छिन । विशेष गरि विदेशमा कुर्ता सुरुवाल, सल, पछ्यौरा, साडी, चौवन्दीको माग हुन्छ ।
ढाकामा ठूला सामानको भन्दा साना सामानहरु जुत्ता, टोपी, व्याग, रुमाल, पर्स, टाईको नाफा बढी छ । बजार पनि सहज छ । उत्पादन पु¥याउनै नसकिने गरि माग छ । उनको उद्योगले ढाकाको माग धान्नै सकेको छैन । बजार माग अत्यधिक छ । उत्पादन कम छ । उनले जिल्लाभरीका महिला उद्यमीले बुनेको ढाका खरिद गर्छिन । कहिलेकाहिँ माग अनुसार बुन्न अर्डर दिन्छिन । जिल्लाका कमलामाई, तिनपाटन, दुधौली, मरिण, हरिहरपुरगढी, सुनकोशी, गोलञ्जोर, फिक्कलमा ढाका उद्यमीहरु छन । सबैको उत्पादित सामान उनकै पसलमा आउँछ ।
विराटनगर र काठमान्डौबाट धागो ल्याएर उनी सहित जिल्लाका उद्यमीले ढाका बुन्छन । धागो नपाउने समस्या छ । त्यसलाई व्यवस्थापन गर्दै ढाका उद्यमीहरु निरन्तर व्यवसाय सञ्चालन गरिरहेका छन ।
बेलिमायाले विभिन्न संघसंस्था, सरकारी निकाय तथा स्थानीय तहको समन्वयमा जिल्लासँगै अन्य जिल्लामा समेत प्रशिक्षक भएर काम गरेकी छिन । सिन्धुलीका सात स्थानीय तहमा पुगेर उनले ढाका बुनाईको प्रशिक्षण दिएकी छिन । अछाम, सिन्धुपाल्चोक, सर्लाहि, मकवानपुर, काभ्रे, रसुवा लगाएतका जिल्लामा प्रशिक्षण दिन पुगेकी छिन ।
हालसम्म ८ सय महिलालाई प्रशिक्षण दिई सकेको गिनेलले बताईन । उनले प्रशिक्षण दिएका मध्ये ५ सय जतिले अहिले उद्यम गरिरहेका छन । प्रशिक्षणबाट आम्दानी पनि रामै्र हुन्छ । उनले मासिक एक लाख भन्दा बढी प्रशिक्षणबाटै कमाउँछिन । बेलिमाया दुई सन्तानकी आमा हुन । एक छोरा र एक छोरीकी आमा रहेकी उनको विवाह १५ वर्षको उमेरमा परिवारले गरिदिएको हो । १८ वर्षमा पहिलो बच्चा जन्माईन, २० वर्षमा दोस्रो सन्तान । जसका कारण पढाई अवरुद्ध भयो ।
पढ्ने इच्छालाई मारेर विवाह गरेकी उनको पढ्ने हुटहुटी पनि विस्तारै पुरा हुदैछ । जसमा सहयोग गरेका छन मित भाई हिरण्यलालले । व्यवसायमा पढाई खड्किदै गएपछि उनले कक्षा सातमा भर्ना भएर पढ्दै गईन । विद्यालय नगई स्वअध्ययन गरेरै उनले यस पटक एसईई गरिन । भाईले पढाउने स्कुल ज्ञानोदय मावि भिरगाउँबाट २०७९ को एसईईमा सहभागि भएर पास गरिन ।
‘दिनभरी व्यवसाय गर्थें, राती भाईको सहयोगमा छोराछोरीसँगै बसेर पढ्थें,’ उनले भनिन । अब क्याम्पस पढ्ने रहर छ उनलाई । उनी भन्छिन, ‘अब ११, १२ क्याम्पस गएरै पढ्छु ।’ पढ्ने र सिक्ने हुटहुटीले गर्दा तीन महिने आधारभूत कम्प्युटर तालिम समेत लिईन । अहिले आफ्नो काम कम्प्युटरमै गर्न सक्ने भएकी छिन । उनी भन्छिन, ‘मेरो काम कम्प्युटरमा गर्न सक्छु ।’ उनले अंग्रेजी भाषा पनि सिकेकी छिन ।आफुसँगै छोराछोरीलाई पनि आफैसँग राखेर हुर्काएकी छिन, पढाएकी छिन । छोराले कक्षा ८ मा पढ्छन, छोरीले कक्षा ७ मा । उनीहरु सरकारी स्कुलमा पढ्छन । यो जिम्मेवारी पनि उनले एक्लै निभाएकी छिन । गिनेलसँग अर्को ठूलो इच्छा छ गाडी चढ्ने । अब गाडी चलाउन सिक्ने तयारीमा छिन बेलीमाया । ‘आफै गाडी चलाएर आफुलाई टोपी बेचेर भाडा तिर्न सकिन्छ ?’ भनेर हेप्नेहरुलाई देखाउने रहर छ । यो भनिरहदा उनले साझा सुविधा केन्द्र बनाउँदाको स्मरण गरिन । मरिणमा आफै जग्गा दिएर साझा सुविधा केन्द्र बनाउन सहजीकरण गरेकी थिईन उनले । केन्द्र बनाउने बेलामा स्थानीयले ढुंगा हानेर काम गर्न नदिएको उनी सम्झन्छिन । ढाका बुनेर गाउँकै इच्जत फालेको उनीमाथि आरोप थियो ।
‘हामीले दिउँसो गाउँलेको अवरोध भएर रातीमा ढुंगा बालुवा र सिमेन्ट बोकेर सिएफसि बनायौं’, उनले भनिन, ‘आज सबैको उदाहरणीय काम भएको छ ।’ त्यो सुविधा केन्द्र निर्माणमा युएनडिपीको ९ लाख लगानी थियो, डिमेगाको सहजीकरण थियो । ३ लाख रकम नपुगेपछि महिला उद्यमीहरुले श्रमदान गरेका थिए ।
‘मान्छे देख्दा भाग्ने, आफ्नो परिचय दिन नसक्ने म अहिले सफल उद्यमी भनेर चिनिएकी छु,’ उनले भनिन । उनलाई आजभोली बोल्न पाए हुन्थ्यो, भेलामा गफ गर्न पाए हुन्थ्यो आफ्ना अनुभव बाँड्न पाए हुन्थ्यो जस्तो लाग्छ । त्यहि कारण उनले नयाँ अफर ल्याएकी छिन क्याम्पस पढ्ने छात्रालाई निःशुल्क सिप सिकाउने । उनले ढाका बुन्न इच्छा गर्ने १४ जनालाई निःशुल्क सिप दिईसकेकी छिन । काम गर्न चाहनेलाई काम पनि दिने उनको इच्छा छ । हाल क्याम्पस पढ्दै गरेका ६ जना उनीसँगै जोडिएर काम गरिरहेका छन ।
ढाका व्यवसायले नै आफ्नो सामाजिक, आर्थिक, पारिवारिक जीवनस्तरमा परिवर्तन ल्याएको दावी गर्छिन उनी । सहनशिलता, धैर्यता, निरन्तरता, आफुले गरेको कामप्रति आफुले विश्वास गर्न सक्ने र काम गर्ने इच्छाशक्ति भएको मान्छेले व्यवसायमा सफलता पाउने उनको अनुभव छ ।





















