सिन्धुली । मध्यपहाडी लोकमार्ग (राजमार्ग) अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.२ नवलपुरमा बसको ठक्करबाट सुनकोशी नदीमा खसेको कारमा तीनजना रहेको प्रहरीले पुष्टि गरेको छ । सोमबार दिउँसो सडक छेउमा रोकेर राखिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको वा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख डिएसपी विजय श्रेष्ठका अनुसार कारमा कार चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ७ का दिल कुमार तामाङ, कारमा मध्यपहाडी लोकमार्गको पुनःनिर्माणको काम खटिएका स्काईभेटर चालक गोलञ्जोर गाउँपालिका वडा नं. १ का गणेश थापा र नाम, थर नखुलेका एक जना सहयोगी रहेका थिए । कार सुनकोशी नदीमा खसेको पुष्टि भए पनि नदीमा कार देखिएको छैन । तीनजना अझै वेपत्ता छन् ।
मध्यपहाडी राजमार्ग पुनःनिर्माणको ठेकेदार कम्पनीको कार भएको जानकारी प्राप्त भएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेर कार तथा त्यसमा सवार व्यक्तिहरूको खोजी कार्य सुरु गरेका छन् ।
दुर्घटनामा संलग्न बस र बसका चालक फिक्कल गाउँपालिका ६ का हेम बहादुर तामाङलाई प्रहरी चौकी खाङसाङमा नियन्त्रणमा लिई राखिएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रविन्द्र बहादुर सिंह सहितको टोली समेत घटनास्थलतर्फ गएको छ ।




















