सिन्धुली । जुद्ध बहादुर राई सिद्धकाली जुनार फर्मका सञ्चालक हुन । उनको जुनार फर्ममा पाँच सय बढी जुनारका बोट छन । लटरम्म पहेंलै पाकेका जुनारका बोटले लच्केर भुईं छोएका छन । हेर्दै बसिरहुँ लाग्ने जुनार बगैंचामा पुग्दा राई खुशीले रमाईरहेका थिए । कारण विगतका वर्षहरुमा भन्दा यो वर्ष जुनार उत्पादन बढेको थियो । विगत वर्षमा १४ मेट्रिकटन जुनार बेचेका राईले यो वर्ष १८, १९ मेट्रिकटन भन्दा बढी उत्पादन हुने अनुमान गरेका छन ।
दाजुभाईले सञ्चालन गरेको उक्त जुनार फर्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनको पचास प्रतिशत अनुदानमा प्रोटिन वेट छरेका र निरन्तर प्राविधिक सल्लाह बमोजिम जुनारको स्याहार गरेपछि उत्पादन राम्रो भएको राईले बताए । यसरी औषधि नछिट्दा फल कुहेर झर्ने, औंसा पर्ने समस्या गत वर्ष देखिएको थियो । अहिले त्यसरी फल झरेको छैन र किरा पनि परेको छैन ।
वि.सं.२०६५÷०६६ बाट व्यवसायीक रुपमा जुनार उत्पादन सुरु गरेका राई परिवारले यस पटक जुनारका विरुवाहरु थपेर उत्पादन बढाएका छन । त्यसअघि २०४५ सालदेखि नै सामान्य जुनार उत्पादन गरेका राई परिवारले यो पटक उल्लेख्य जुनार उत्पादनमा वृद्धि गरेका छन ।
राईको गत वर्ष जुनारबाट ७ लाख आम्दानी भएको थियो । त्यसअघि पनि जुनारबाट राम्रो आम्दानी लिदैं आएका राई परिवारले यसपटक आय थपिने अनुमान गरेका छन । यस पटक ९ देखि १० लाख रुपैंया आम्दानी गर्ने अनुमान राईको छ ।
सिंचाई, गोडमेल, मल, किरा नियन्त्रण लगाएतका काम प्राविधिक निगरानीमा भएकाले उत्पादन बढ्ने उनले बताए । राईजस्तै सिन्धुलीका जुनार किसान उत्पादनमा वृद्धि भएपछि खुशी भएका छन ।
सुपरजोन र किसानको पचास पचास प्रतिशत लगानीमा जुनार सुपरजोन क्षेत्रका सुनकोशी गाउँपालिका वडा नं. ७ को मझुवा, कमलामाई नगरपालिका वडा नं. ३ को जलकन्या, गोलञ्जोर गाउँपालिका वडा नं. ५ को खनियाँखर्क, चिसापानी र नयाँखर्क, गोलञ्जोर गाउँपालिका वडा नं. ४ को तिनकन्या, गोलञ्जोर २ को वितिजोर, गोलञ्जोर १ को डुँडभञ्ज्याङ र तिनपाटन गाउँपालिका वडा नं. १ को तोश्रामखोलाको १ हजार हेक्टर जमिनमा रहेका बगैंचाको ४ हजार ३ सय ६१ बोटमा औषधि छिटिएको थियो ।
बजारको समस्या
राईका अनुसार जुनार एकै पटक बजार पठाउन सक्ने अवस्था छैन । स्थानीय बजारमा कुरा भएको छ । सिन्धुली, चियावारी, खनियाँखर्क, खुर्कोट लगाएत मुख्य जुनार विक्री हुने बजार हुन । व्यापारीहरुले निर्धारित मुल्य तिर्छन र जुनार लिएर जान्छन । तर एकैपटक बजार पठाउन भने समस्या छ । ‘बोटमा जुनार पहेंलै छ बजारमा एकैचोटी जुनार पठाउन पाईदैन’, राईले भने ।
उनले विचौलियाका कारण किसान र उपभोक्तालाई मार परेको बताए । ‘विचौलियाले किसानसँग सस्तोमा लिन्छन, उपभोक्तालाई महंगोमा वेच्छन । किसान र उपभोक्ता मारमा पर्छन,’ राईले भने ।
‘जुनार बगैंचासम्म पुग्न बाटोको पनि समस्या छ । नीजि पैसाले खनेर घरसम्म साना गाडी जेनतेन पुग्छन तर बाटो अप्ठ्यारो छ । मोटरसाईकल, सानो गाडीहरु अलिअलि चल्ने गर्छन,’ जुनार किसान लक्ष्मी राईले भनिन् । ‘यो बाटो खन्दा सफा गर्दा मात्रै ६०, ७० हजार खर्च भयो, उनले भनिन् ।
सिद्धकाली जुनार फर्ममा दुई भाईको लगानी छ । उनीहरुले ५ सय विरुवा हालेका छन । साना विरुवा हालेका छन । साना ठूला गरेर ५ सय विरुवाले फल दिन्छन । एउटा बोटले ३ देखि पाँच बोरासम्म फल दिन्छन । ‘हामीले एक वोटबाट ३ बोरा, ४ बोरा, ५ बोरा जुनार टिप्छौं,’ लक्ष्मीले भनिन । लक्ष्मीलाई बोरामा कति किलो हुन्छ भन्ने चाहिँ ठ्याक्कै थाहा भएन ।
पन्ध्रदेखि बिस प्रतिशत उत्पादन बढ्छ
जिल्लामा यस पटक ६ हजार मेट्रिकटन जुनार उत्पादन हुदैछ । सुपरजोनको कार्यक्षेत्रमा ४० प्रतिशत जुनार बजारमा गईसकेको छ । अब ६० प्रतिशत जुनार बजारमा जान बाँकी छ । यो वर्ष गत वर्षको तुलनामा पन्ध्रदेखि २० प्रतिशत उत्पादनमा वृद्धि भएको जुनार सुपरजोनका प्रमुख वरिष्ठ कृषि अधिकृत रमेश हुमागाईंले बताए । उनका अनुसार यो वर्ष ३३ करोड रुपैंया जुनार किसानको हातमा जान्छ । जिल्लाको जुनारको आर्थिक कारोबार ४० करोड भन्दा बढी हुने अनुमान छ ।
किसानले औसतमा ५५ देखि ६० रुपैंया जुनारको बगैंचामा मुल्य पाईरहेका छन । बजारमा पुग्दा यसको मुल्य ८० रुपैंया हुन्छ र उपभोक्तासम्म पुग्दा ८० देखि १०० रुपैंयामा किनवेच भईरहेको छ ।
जुनार सुपरजोनले जुनारको प्रवद्र्धन, उत्पादन र बजारीकरणका लागि ३ वटा कार्यक्रम लागु गरेको छ । त्यहि कार्यक्रमको प्रभावका कारण उत्पादनमा वृद्धि भएको जुनार सुपरजोनको दावी छ ।
जुनार सुपरजोनले जुनार बढाउने, जुनार जोगाउने र जुनारबाट कमाउने कार्यक्रम अगाडि बढाएको छ । जुनार बढाउने कार्यक्रम अन्तर्गत हरेक वर्ष ६० हेक्टरमा नयाँ विरुवा रोप्ने गरेको हुमागाईले बताए । वर्षमा उल्लेखित क्षेत्रफलमा १८ हजार नयाँ विरुवा हरेक वर्ष थप रोपिदैं आएको छ ।
जुनार जोगाउने कार्यक्रम अन्तर्गत व्याक्टोसेरामिनाक्स (फ्रुट फ्लाई) को समस्या नियन्त्रण गरिएको छ । जस अन्तर्गत जिल्लामा फ्रुट फ्लाई नियन्त्रणका लागि बैशाखको १० गतेदेखि असारको २५ गतेसम्म १४ सय लिटर प्रोटिनबेट छरिएको छ । जसका कारण फलहरु झरेको छैन र १० देखि १५ प्रतिशत उत्पादनमा वृद्धि भएको छ ।
एक हजार मिटर आसपासको भूभागका सिट्रस ग्रिनिङ भन्ने रोगको समस्या छ । जसको नियन्त्रणका लागि जुनार सुपरजोनले नार्कको सुन्तला जातको अनुसन्धान केन्द्रको वैज्ञानिकहरुसँग मिलेर परिक्षण गरिरहेको छ । साथसाथै अमेरिकाको युनिभर्सिटीमा रिसर्च गरिरहेका एक्पर्टहरु पनि बोलाएको जनाएको छ ।
जुनारबाट कमाउने कार्यक्रम अन्तर्गत पाँच वटा समुदाय स्तरमा कोल्ड स्टोर बनाउने तयारीमा सुपरजोन छ । गत वर्ष एक वटा कोल्ड रुम बनाएको थियो । कोल्ड रुमले अफसिजनमा जुनार बेच्न र राम्रो मुल्य पाउन मद्दत गर्छ । अहिले ६० रुपैंया भएको जुनार २ महिना पछि १२० रुपैंयासम्ममा विक्री हुन सक्छ । एउटा कोल्डरुममा १० मेट्रिकटन जुनार स्टोर गर्न सकिन्छ । किसानहरुको कोल्डरुम बनाउनेतर्फ आकर्षण बढेको सुपरजोनले जनाएको छ । यी कोल्डरुम बनेपछि फागुनमा जुनारको सिजन सकिन्छ । चैत बैशाखसम्म पनि जुनार राख्न र बेच्न सकिन्छ ।
मार्केट सेन्टर बनाउने तयारी
जुनार सुपरजोनले भिमानदेखि खुर्कोटसम्म मार्केट सेन्टर बनाउन सर्वेक्षण गरिरहेको छ । जुनारको मुख्य बजार नै सिन्धुलीका स्थानीय बजार भएकाले बजार प्रवद्र्धनको लागि अनुसन्धान भईरहेको छ । त्यो हिसावले ती बजारमा मार्केट सेन्टर बनाउने, क्रेटहरु वितरण गर्ने, हरेक जुनारका स्टललाई जुनारबाट रोगकिरा नफैलियोस भनेर प्याष्टिकहरु वितरण गर्ने काम भईरहेको छ ।
प्रस्तावहरु थपिदैं
यो आर्थिक वर्षमा किसानबाट सुपरजोनमा २ सय बढी प्रस्तावहरु प्राप्त भएका छन । सिंचाई, बगैंचा व्यवस्थापन, कोल्डस्टोर निर्माण, अनलाईन सपिङ (क्युआर कोर्ड राखेर) का लागि जस्ता माग सहित प्रस्ताव आएका छन । ती प्रस्तावहरुको सम्झौताको काम अगाडि बढीरहेको छ ।
किसानहरुको सबैभन्दा बढी माग सिंचाईको पोखरी तथा कुलोका संरचनाहरु निर्माण गर्नेमा छ । किरा नियन्त्रण, नयाँ विरुवा रोप्ने, बजारीकरणमा बजेटको अभाव छैन । तर सिंचाईको मात्र १६८ प्रस्ताव जुनार सुपरजोनमा आएको छ । यसमा बजेट अलिक कम छ । बजेट माग गरेर यसलाई व्यवस्थापन गर्न १ करोड बजेट मात्र छ । माग हेर्दा अर्को वर्ष डेढ करोडसम्म बजेट पुराउनुपर्ने देखिन्छ ।
चक्लाबन्दी गर्ने तयारी
जुनार सुपरजोनले चक्लाबन्दीमा ६ हजार विरुवा रोप्ने तयारी गरेको छ । त्यसका लागि उपयुक्त स्थानको खोजी भईरहेको छ । जुनार उत्पादनमा लागेका लोपोन्मुख जाती, जनजातीहरुलाई ५, ६ सय विरुवा रोप्न पनि प्रोत्साहन गरिहेको छ । जुनार उत्पादनमा अधिकांश जनजाती समुदायका व्यक्तिहरु रहेकाले पनि यसलाई प्राथमिकतामा राखिएको हुमागाईंले बताए ।























