
महाभारतको लेक भएकाले चिसो चिसो मौसम हुन्छ भदौको महिनामा । बाँसको तामाको सिजन, आमाले दरमा तामा पकाउनु हुन्छ, बारीमा फलेको काँक्रोको अचार बन्छ, लेकमा फलेको घिउ सिमीको तरकारी पाक्छ ।
रातीको १२, एक बजेको समय हजुरआमा मेरो छेउँमै आएर दर खान उठाउन थाल्नु हुन्छ । म त केटाकेटी न हो सुतेपछि उठ्नै गाह्रो । त्यहि पनि १०, ११ बजेसम्म तीजको मेलामा मामासँग गएर नाचेर आएर सुतेकी मेरो निद्रा खुल्दैनथ्यो ।
हजुरआमालाई पकाएको दर एक्लै खान कहाँ मनले मान्थ्यो र ? त्यो पनि आफ्नी छोरीको झल्को मेटाउन ल्याएकी नातिनी मलाई नखुवाई । अनि तीजका गीत गाएर मलाई फकाउनुहुन्थ्यो । ‘तीजको खाजा मिठो भदौरे तामाले, नरोए भाञ्जी लिन आउँछु भन्थे मामाले …।’
हजुर आमाले मरिहत्ते गरेपछि म आँखा मिच्दै उठेर दर खान्थें । हजुर आमाले पकाएको दरभन्दा बढी आमाको माया मिठो लाग्थ्यो ।
हजुर आमाले गाएको यो गीत र त्यो माया मिसिएको दरको यादले तीजमा अहिले पनि मेरो मन रुवाउँछ । जत्ति नै मन रुवाए पनि तीजमा हजुरआमासँग तीज मनाउन अब पाउँदिन । न त हजुर आमाको झल्को मेटाउन हजुरआमाकी छोरी, मेरी आमासँग नै तीज मनाउन जान पाउँछु । न हजुर आमा खोजेर नै पाउँछु । विवाह भएको १५ वर्षमा जम्मा २ पटकको तीजमा आमासँग छु । बाँकी समय घरमै । माइती मावली जाने दुरी टाढा छ । पारिवारिक जिम्मेवारी, छोराछोरी, घर व्यवहार कहाँ सोंचे जस्तो हुन्छ र छोरीलाई ?
हजुर आमा स्वर्गे हुनु भएको २५ वर्ष जति भयो तर हजुरआमाले दर खुवाउन मलाई हरेक वर्ष फकाउने त्यहि गीत र दर खाने रातको सम्झनाले तीज खल्लो हुन्छ मेरा लागि । मेरा दुई छोरी छन । उनीहरुको खुशीका लागि खुशी हुन त हुन्छु तर मनै देखि आमा, हजुरआमा भएको भए कत्ति रमाईलो हुने थियो जस्तो लाग्छ । अलि खल्लो महसुस हुन्छ । मलाई जस्तै मेरा नानीहरुलाई तीजमा टाढा हुँदा तीज खल्लो नहोस जस्तो लाग्छ र त दर खाने दिनको राती कहिल्लै दर पकाउँदिन ।
अरु दिन साथी भाई आफन्तसँग रमाए पनि हजुरआमाको स्वर्गारोहणपछि दर खाने दिन राती उठेर कहिल्लै दर खाएकी छैन । दर खान र दर पकाउन मनै मान्दैन । अरुले दिएको माया माया जस्तो लाग्दैन । दर दर जस्तो लाग्दैन । सायद आमासँग तीज मनाउन जान पाउने भए केहि मात्रामा हजुरआमाको झल्को मेटिन्थ्यो की ? त्यो पनि प्रायः सम्भव हुदैन । कहिले काहिं लाग्छ मेरा लागि तीज नआईदिए हुन्थ्यो । तीजका गीत कतै नसुनिए हुन्थ्यो ।
हजुर आमाकी एक्ली छोरी मेरी आमा । म पनि एक्ली नातिनी थिएँ त्यतिबेला । हजुरआमाका लागि हामी निक्कै प्यारा थियौं । तर मेरी आमा धेरै जसो तीजमा माईत जानुहुन्नथ्यो । मलाई जस्तै घर व्यवहारले थिचेको थियो होला सायद आमालाई पनि ।
आमा नगएपछि सानो मामाले जहिल्लै तीजमा मलाई बोकेर मामा घर लानुहुन्थ्यो । हजुरआमा ज्यूँदो हुदासम्म मैले आक्कल झुक्कल आमासँग तीज मनाएँ होला, त्यो बाहेक हजुरआमासँग मनाएँ । मेरा तीन जना मामा भए पनि कान्छो मामाले नै हो मलाई जुका लाग्ने उकालो बाटोमा काँधमा बोकेर लाने । खुट्टामा जुका लागेर म चिच्याएँ भने टिपेर फालिदिने गर्नुहुन्थ्यो मामाले । टिमुर मिचेर खुट्टामा दल्दै, जुका टिप्दै मलाई बोकेर मामा घर पु¥याउनु हुन्थ्यो । मामाको त्यो काँधमा अहिले पनि चढौं चढौं लाग्छ । मामाको काँधमा बसेर टाउकोमा समाएर गफ गर्दै मामाघर जाउँ जस्तो लाग्छ ।
हाम्रो गाउँ र मामा घरमा साउन लागेसँगै तीजको पञ्चमीसम्म एक दिन विराएर गाउँमा दाजुभाई दिदीबहिनी जम्मा हुने र साँझमा तीजका गीत गाउने नाच्ने चलन थियो । धेरै जसो मेरा मामाले काँधमा बोकेर राँको बालेर नाचगान भएको ठाउँमा लानुहुन्थ्यो मलाई । कहिल्लै मलाई दुःखी हुन दिनु हुन्नथ्यो । म पनि मामासँग गएर मावली गाउँमा नाच्थें, गाउँथें । सबै जनाको सामुहिक नाचगान गर्ने चलनले मावली गाउँ मलाई आफ्नो गाउँ जस्तो लाग्थ्यो । अहिले त त्यसरी गीत गाउने चलन प्रविधिसँगै हराउँदै गएका छन । मामा घर तिर नि हराए होलान तर पनि मलाई त्यहि पुरानै याद आईरहन्छ । जति रेकर्डेड गीत बजाएर नाचे पनि ती दिन जति रमाईलो अहिलेको तीज लाग्दैन ।
मामा घरमा जाँदा हजुरआमासँग निवुवा टिप्न गईथ्यो । गोठमुनीको लोकल कागती टिपेर चपाईन्थ्यो । घर मास्तिरको मकै बारीमा फलेका काँक्रो टिपेर सिंगै चपाईन्थ्यो । खान मन नलागे बारीतिर हुत्याइन्थ्यो । जे जे गरे पनि हजुरआमाले सधै माया गरिरहनु भयो । कहिल्लै गाली गर्नु भएन ।
चिसो ठाउँ डाँडाको घर । खरको छानो भएको होँचो घरको पिँढीमा बसेर हजुरआमाले कपाल कोरेर माथि बाटेको मलाई याद छ । आफुसँगै मेरो कपाल पनि बाटिदिनुहुन्थ्यो । अहिले पनि हजुरआमालाई भेट्न पाए मायाले टाउको मुसारेर कपाल बाटिदिनुहुन्थ्यो होला, राती सुत्ने बेला छातीमा टाँसेर न्यानो बनाएर अँगेनाको छेउँमा सुताउनुहुन्थ्यो होला जस्तो लाग्छ ।
जब हजुरआमा खस्नु भयो त्यसपछि मावलीमा मैले तीज मनाएकी छैन । हजुरआमा खसेपछि मामाले हजुरआमाले गीतमा भने जस्तै कहिल्लै मलाई तीजमा लिन आउनु भएन । म रोएँ की हाँसे मामालाई कहिल्लै थाहा भएन । म दुरीले अलि टाढा छु तर मनले छैन । मेरो सानो मामाले तीजमा सधै काँधमा बोकेर लगेकी भाञ्जी विर्सनु भयो होला र त होला अहिले सञ्चारको जमानामा पनि एक कल फोन समेत आउँदैन, लिन त परैको कुरा । एउटै रगत मेरा दाजुभाईले पनि तीजमा प्रायः सम्झन्नन् । अहिले त मेरा बा, आमाले मात्र सम्झन्छन मलाई तीजमा । आखिर माया त बा, आमाहरुसँग न हुन्छ । मेरा बा आमालाई तीजको अवसरमा माया अनि नमन । स्वर्गिय मावली हजुरआमालाई श्रद्धासुमन ।




















