कुरा २०७८ साल बैशाख ३० को निर्वाचन ताकाको हो । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर हामी चुुुनाव प्रचार प्रसारको अभियानको क्रममा मेयर उपमेयरका उमेदवार सहित कमलामाई नगरपालिका वडा नम्बर १४ स्थित रानीवास पुगेका थियौं । कार्यक्रम स्थलको वरिपरि साना साना स्थानीय बालबालिकाहरु कुदिरहेका थिए । त्यहिँ एकजना बालक पैसा माग्दै आफ्नो बुवा आमा नभएको बताइरहेका थिए । ती बालकको कुरा सुनेपछि हामी सँगै जाने केहि साथीहरुले अलि अलि पैसा पनि दिनु भएछ र मलाई पनि उसको बारेमा केहि कुरा सुनाउनु भयो । ती बालक पनि हाम्रो पिछा गरिरहेका रहेछन् । साथीहरु कार्यक्रम स्थतलतर्फ लाग्नु भयो म भने तिनै बालकको बास्तविकता बुझ्न उनी नजिकै गएँ । उनका साँच्चिकै बुवा आमा नभएका हुन त ? भनेर छेवैमा बसेर हाम्रो कार्यक्रम निहालिरहनु भएका नेपाली कांग्रेसका नेता उज्वल बराल, मोहन बराल लगाएतका व्यक्तिहरुलाई बालकका बारेमा सोधें । उहाँहरुले पनि उनका बुवाआमा नभएको नै बताउनु भयो । अनि मैले उहाँहरुलाई प्रश्न गरेँ, ‘त्यसो हो भने यो बच्चाको व्यवस्थापन, शिक्षा दिक्षाको लागि खै त तपाँईहरुको पहलकदमी ? सहयोग गर्नु प¥यो नि त ।’ उहाँहरुले ‘यो धिकधरानले एक ठाउँ बस्दैन । डुली डुली खान बानी परेको छ’ भन्नु भयो ।
त्यसपछि अलिक पर बसेर त्यो बच्चासँग तिम्रो नाम के हो ? तिमीलाई के गर्न मन पर्छ ? भनेर सोधेँ । उनले आफ्नो नाम तारा बहादुर थापा भने । अनि आफुलाई पढ्न लेख्न मन लाग्ने बताए । बुवा सानै हुदाँ वितेको (मृत्यु भएको) र आमाले पनि सानैमा छोडेर सम्पर्क विहिन भएको उनले बताए । उनले बुवाआमाको माया नै थाहा नपाएको पाईयो ।
उनीसँग कुरा गरेपछि मैले तिमीलाई सम्पर्क गर्दा कस्लाई गर्ने ? तिम्रो आफन्त कोही यहाँ आउनु भाको छ भनेर सोधेपछि उनले एकजना भिनाजुलाई चिनाए । अनि मैले उहाँको नम्बर लिएपछि कतै यो बच्चालाई पढ्ने, बस्ने व्यवस्था मिलाएर फोन गर्छु भनेर म पनि कार्यक्रमतिरै लागें ।
कार्यक्रम सकियो । हामी सिन्धुलीतर्फ आउन हाम्रो गाडी चढ्यौं । गाडी अगाडि बढ्न लागि सकेको थियो । ताराबहादुरले मलाई कार्यक्रमको भिडमा सबैतिर खोज्न भ्याएछन् । अनि स्याँस्याँ गर्दै गुड्न लागेको गाडीलाई हातको सानले रोके । ‘हाम्रो गाडी अगाडि उभिएर आन्टी कहाँ जान लाग्नु भाको मलाई छोडेर । म पनि तपाँईसँगै जाने’ भन्दै रुन थाले । उनी रुँदा गाडीमा हुने हामी सबै आमाहरुको आँखा रसाए । अनि मैले उसलाई ढाडस दिंदै भने, ‘बाबु तिमी अहिले हामीसँग जान मिल्दैन । तिमिलाई फोन गर्न मैले नम्बर लिएको छु । तिमीलाई पछि लैजाने है’, भनें ।
मसँग खुला पैसा थिएन । पार्वती भट्टराई जीसँग भएको एक सय रुपैयाँ उसको हातमा थमाएर हामी अगाडी बढेउँ । उ हामीलाई परसम्म पनि विदाईको हात हल्लाउदै हेरिरहेको थियो । एकछिन गाडीमा सन्नाटा छायो । कोहि केहि बोल्न सकेनौं । हुन पनि हो अर्काको बच्चा बाटोमा भेटेकै भरमा विना प्रमाण जति नै मन कमलो भए पनि उठाएर ल्याउन त्यति सहज थिएन हामीलाई । त्यसैले उसलाई उहिँ छोडेर हामी आउन बाध्य थियौं । मैले गाडीमा तारा बहादुरको पढाई लेखाई र हेरचाहका लागि हेटौडामा रहेको मामाघर भन्ने संस्थामा सम्पर्क गरेर पठाउने सोंचेकी थिएँ । त्यो संस्थाका एकजना सल्लाहकार सदस्य चिनेको थिएँ । उहाँलाई त्यहिँ रानीबासबाटै फोन पनि गरें । उहाँले ‘केहि कानुनी आधार सहित पठाउनु होला, बच्चाको व्यवस्थापनमा सहयोग गर्छु’ भन्नु भएको थियो । त्यहि कुरा मैले आउँदै गर्दा बाटोमा साथिहरुलाई भनें ।
कमलामाई नगरपालिकाका निवर्तमान उपमेयर तथा वर्तमान उपमेयरका प्रत्यासी मन्जु देवकोटाले कमला जनज्योति मावि सिलामेमा व्यवस्थापन हुन्छ । कमलामाई नगरपालिकाको सहयोगमा बुवा आमा विहिन बालबालिकालाई आवास सहित पढ्ने व्यवस्था छ, त्यसको व्यवस्थापन चुनावपछि गरौं भन्नुु भयो । यो कुराले झन म खुशी भएँ ।
बाटो अगाडि बढ्दै जाँदा अरु साथीहरु गफगाफ गर्न थाल्नुभयो । मलाई भने गाडीमा भएका कुराकानीको वास्तै भएन । मेरो ध्यान खाली तारा बहादुर दौडिदै आएर ‘आन्टी कहाँ जान लाग्नु भाको मलाई छोडेर । म पनि तपाँइहरु सँगै जाने’ भनेको आवाज कानमा गुन्जिरह्यो र मनमा गाँठो परिरह्यो ।
स्थानीय तहको निर्वाचन सकिए सँगै मैले तारा बहादुरको भिनाजुलाई पटक–पटक सम्पर्क गरें । तर तारा बहादुरसँग सम्पर्क हुन सकेन । मैले उनको भिनाजुलाई त्यो बाबु तपाँईकोमा आएपछि मलाई मिसकल गर्नु म फोन गर्छु भनें । फेरी पनि फोन गरेँ आकै छैन यहाँ त भने । उनको भिनाजुलाई मैले सोधें ‘कहाँ बस्छन त बाबु ?’ ‘कहिले कता बस्छ कहिले कता बस्छ, जहाँ पेटभरी खान दिन्छन त्यहि दिनभरि काम गर्दिन्छ’ भने ।
अनि मैले तपाँईकोमा आएपछि मलाई मिसकल गर्नु है भनेर फोन राखे । आजभन्दा झण्डै दश बाह्र दिन अगाडि मलाई तारा बहादुरको भिनाजु नम्बरबाट मिसकल आयो । हतासले मैले पक्कै तारा बहादुरले होला भन्ने लागेर फोन फर्काएँ । मैले ‘हेलो’ भनें । उताबाट एकदम चखिलो आवाजमा ‘हेल्लो आन्टी दर्शन’ भन्ने आवाज आयो । मैले ‘दर्शन बाबु’ यतिका दिन तिमी कहाँ गाको ?’ भनें । उनले भने, ‘म उ पारी बसेको थिएँ आन्टी ।’ अनि हजुरलाई सन्चै छ त ?, उनले सोधे । मैले भनेँ, ‘अँ म सन्चै छुु । अनि तिमी मैले भनेको ठाउँमा आउने हो त पढ्न ?
उनले ‘हो आन्टी म आउँछु मलाई लग्दिनु’ भने । मैले ‘ल उसो भए तिमी यो मेरो नम्बरमा तिम्रो दाईको नम्बरबाट फोन गर’ भनें । ‘ल हुन्छ’ भनेर उनले तुरुन्त उनको दाइको नम्बरबाट मिसकल गर्न लगाए । नयाँ नम्बर देख्ने वित्तिकै मैले फोन रिप्लाई गरँे । उनले ‘आन्टी मेरो दाईसँग बोल्नु’ भनेपछि मैले उनको दाइसँग तारा बहादुरका बारेमा सबै कुरा बुझें । तारा बहादुरको दाजुको नाम गिरिजाबाबु थापा रहेछ । तारा बहादुर गिरिजबाबु्का कान्छी आमा पट्टिका भाई रहेछन् । तारा बहादुरसँगै कान्छी आमा पट्टीको अर्की एकजना बहिनी अर्थात तारा बहादुरकी दिदी पनि छिन् । ती बहिनीलाई पनि डकाहातिर एकजना शिक्षकले उनको पठनपाठनको व्यवस्था सहित अभिभावकत्वको जिम्मा लिएको गिरिजाबाबुले बताए ।
सामान्य किसान परिवारका गिरिजाबाबुको आफ्ना छोराछोरी पनि छन् । केहि वर्ष उनी बैदेशिक रोजगारीका लागि साउदी मलेसिया लगायतका देशमा गएका थिए । आफ्नो दैनिकी गुर्जान फेरी पनि बैदेशिक रोजगारीमै जानु पर्ने बाध्यता उनको छ । मेरो जस्तो सुकै आर्थिक अवस्था रहे पनि भाईबहिनीलाई मेरै घरमा राख्न मैले धेरै कोशिस गरें तर उनीहरु मसँग रत्तिएनन्, उनले भने ।
यति कुरा गिरीजाबाबुसँग भएपछि मैले भाईको पढाईको लागि वडा कार्यालयमा गएर विद्यालयलाई आवास सहित पठनपाठनको व्यवस्था मिलाई दिन अनुरोध गरेर एउटा सिफारिस पत्र बनाउन लगाएर भाइको जन्मदर्ता र वडाबाट बनेको सिफारिस पत्र सहित भाइलाई लिएर सिन्धुलीमाढी ल्याउन अह्राएँ । सोहि अनुरुप गिरिजाबाबुले कनपा वडा नम्बर १३ वडा कार्यालयमा वडा सचिवसँग मलाई कुरा गराउनु भयो । वडा सचिवले मैले भने अनुसार नै सिफारिस पत्र बनाईदिनु भएछ । त्यसपछि श्रवणको १५ गते नै ताराबहादुरलाई लिएर उनका दाजु मलाई फोन गरेर सिन्धुलीमाढी आए । घरबाट हिडेपछि मलाई फोन गरेका ती दाजुभाईलाई मैले बसपार्क आएपछि फोन गर्नु भनें ।
त्यो दिन विहानैदेखि अविरल वर्षा भईरहेको थियो । करिव २ः३० बजेतिर मैले गिरिजाबाबुलाई फोन गरे कहाँ आईपुग्नु भयो भनेर फलोअप गरें । उनीहरु शान्तिनगरचोक आएको जानकारी पाएँ र म छाता ओडेर आफ्नो पसलबाट तारा बहादुरलाई लिन बसपार्क हिडें । उनीहरु नगरपालिकाको कार्यालयको आडैमा उभिईरहेका रहेछन् ।
तारा बहादुरलाई चिन्न मलाई गाह्रो भएन किनकी उ मेरो आँखैमा बसेको थियो । भेट्ने वित्तिकै मैले उसलाई धाप मार्दै के छ बाबु भनें । उसले भने मलाई चिन्न अलिक गाह्रो भए जस्तो मानेको बुझें । अनि मैले भनें ‘चिनेनउ मलाई ?’ उनले गहभरी आशु पारेर दुबै हातले मुख छोपेर आशु पुछ्दै ‘ए….चिनें चिनें । चुनावको बेला भेटेको आन्टी । त्यो बेला अर्कैै लुगा लाउनु भाको थियो त । मत त्यस्तै लुगा लाएर आउनु हुन्छ भनेर नि’ भने । कार्यक्रममा जाँदा मैले साडी लगाएर गएको थिएँ अनि ताराबहादुरलाई लिन बसपार्क जाँदा टिसर्ट पाइन्टमा गएको थिएँ, त्यसैले उनलाई चिन्न गाह्रो भयो ।
‘मैले दाजुभाईलाई नै खाना खानु भाको थियो त ? हिड्नु लस्सी खान’ भनें । दाईले नखाने फर्कि हाल्ने बताए । पानी एकदम परिरहेकै थियो । छोटो कुरापछि तपार्इं नै यो बाबुको संरक्षक बस्न पाए हुने मैले गिरिजाबाबुलाई अनुरोध गरें । तर आफुलाई फुर्सद नभएकाले फर्की हाल्ने भन्दै मलाई नै संरक्षक बस्दिनु भने । ‘यहाँसम्म भाईलाई ल्याईदिनु भयो धन्यवाद’ मैले भनें । हस भनेर उनी बसपार्कतिर लागे । विद्यालयका प्रधानाध्यपक विष्णु फुयाँल सरसँग मैले पहिला नै कुरा गरिसकेको थिएँ । १५ गते त्यो बाबुलाई ल्याइदेउ न स्कूलमा भन्नु् भए अनुसार नै मैले ताराबहादुरलाई बोलाएकी थिएँ । पानी धेरै परिरहेकाले प्रधानाध्यपकलाई ताराबहादुरलाई भोली मात्र विद्यालय ल्याईदिने जानकारी गराएँ ।
तारा बहादुर भोकाएर निन्याउरो अनुहार लाएको कुरा मलाई बुझ्न गाह्रो भएन । त्यसैले छेवैमा रहेको फलफूल पसलमा लगेर एक ग्लास लस्सी खान दिएँ र आफुले पनि खाएँ । आधा शरिर पानीले भिजेका ताराबहादुर जाडोले कापिरहेका थिए । झन त्यस माथि चिसो नै भयो लस्सी पनि । ‘त्यो खाइसक्ने वितिकै बल्ल सास आयो आन्टी मेरो त भोकले खुट्टै काम्न थालिसकेको थियो’ उनले तोते आवाजमा भने । म भने उनको अनुहार निहालिरहेको थिएँ । लामो कानसम्म छोपिएको कपाल, हप्तौ नमाझेका जस्ता देखिने उनका दाँत, लामा लामा औंलाका नङ चेन (फस्नर) विग्रिएको जिन्स पाइन्ट अनि ख्याक्ल्याक्क लगाएको कालो टिसर्ट । मेरो सामिप्यता पाएपछि मातृ बात्सल्य खोजीरहेको उनको भाव ।
‘लस्सी खान बस्दै गर्दा हेर्नु त आन्टस् विहान एक भारी घाँस काटेर आएको यो कान्छी औंला त च्वाट्टै काट्यो’ भन्दै देखाउँदा आमाको माया खोजेको प्रस्टै देखिन्थ्यो उनको अनुहारमा । मैले उसलाई सोधें, ‘किन त खान्ट्याङ्क खान्ट्याङ्क गरेर हिडेको तिमी ?’ मैले सोधी नभ्याउँदै ‘यहाँ हेर्नु त रापोे गोडेर खुट्टा फ्यात्त भाको छ । दुखेको छ मलाई त्यहि भएर नी’, उनले भने । ल भरै (साँझ) औषधी लगाउनु पर्छ भनेर ताराबहादुरलाई छाता ओडाउँदै मेरो पसलतिर लिएर गएँ । पसलसम्म पुग्दा उनले मलाई धेरै प्रश्नहरु गरे । यो बजारको नाम के हो ? म पढ्ने स्कुल जाने बाटो कताबाट हो ? तपाँईको घर कहाँ हो नि ? यो अटो गाडीहरु कस्ले बनाएको होला आन्टी ? तपाईं मलाई कति माया गर्नु हुन्छ है ? पहिले पटक सदमुकाम छिरेका तारा बहादुरका सबै प्रश्नहरुको जवाफ सकेसम्म दिएँ । पसल पुगि सकेपछि मैले उनी अघाएको छैनन भनेर अण्डा चाउमिन मगाएर खुवाएँ । त्यो खाईसकेपछि मेरो पसलमा बस्ने सविना छोरीलाई कपाल काटेर ल्याउन लगाएँ । कपाल काटेर उनी ‘अव म राम्रो भएँ है आन्टी ?’ भन्दै हाँस्दै आए ।
साँझतिर ताराबहादुरलाई लिएर म घर गएँ । घरमा पुगेर उसका भिजेका लुगा फेर्न लगाएर बाबु (छोरा) लाई ‘दादासँग खेल है’ भनेर म भान्सातिर लागें । उनीहरु खेल्न थाले । उनीहरु खेल्दै गर्दा मेरो चार बर्षे छोराले दादा तपाँईको बाबा खै ? अनि मामु पनि खै त ? भन्दा उ नसुने झै अरु अरु कुरामा टार्दै निरुत्तर बनिरहँदा मेरो मन गाँठो परेर आयो । ‘उसका पनि बाबा भैदिएको भए आमाको काखमा खेल्दै हुर्किएको भए उसको पनि अर्कै सानको कुरा हुन्थ्यो होला नि ।’ मनले भनिरह्यो । बेलुका हामी परिवारका सबै जम्मा हुँदा मैले बाबुले गरेको प्रश्न सुनाएँ । अनि ताराबहादुरले ‘यो मेरो मामु हो अनि यो मेरो पनि बाबा हो भनेर आफ्नो बाबालाई अंगालो मारिरहँदा मेरो सानो छोरा ईष्र्या’ गरिरहेको थियो । बेलुका २ पटक तातो पानीले गोडा धुन लगाएर औषधी लगाईदिए । भोलीपल्ट त निकै ठीक भएको उनले सुनाए ।
भोलीपल्ट अर्थात साउन १६ गते पनि उसै गरि पानी परिरहेको थियो । विहानै ताराबहादुरलाई नुहाएर नङ्ग काटिदिएर खाना खुवाएर पार्वती जीको स्कुटर लिएर सिलामे स्थित कमला जनज्योति विद्यालयसम्म लिएर गएँ बाटोमा जाँदा मैले उनलाई संस्कारका कुरासँगै मेहनत गरेर पढ्न सम्झाउँदै लगें । उनले ‘बेला बेला मलाई भेट्न आउनु है’ उनले भने । ‘ल म भेट्न आउँछु’ भन्दै विद्यालयमा पु¥याएँ । उनलाई त्यहाँका सबै कुरा देखाई दिएँ । त्यहाँ बस्ने विद्यार्थीहरुलाई पकाएर खुवाउने रेखदेख गर्ने दिदीसँग उसको चिनजान गराएँ । दिदी पनि बडो फरासिली मिजासिली हुनुहुदो रहेछ । दिदीले मायाभावले ताराबहादुरलाई कक्षा ४ को नयाँ किताव दिनुभयो ।
त्यो पाएर तारा बहादुर मख्ख भए । नयाँ विद्यार्थीको एउटा प्रवेश फारम भर्न पर्ने रहेछ । त्यो फारम भर्दा संरक्षकमा म आफैं बस्ने नबस्ने भन्नेबारे मनमनै एकछिन सोचें । मेरो मनले त्यो बेला भन्यो ‘नराम्रो काम पो गर्न भएन त यस्तो कल्याणकारी काममा बस्न पर्छ । जे पर्छ बेहोर्छु ।’ मैले ताराबहादुरको संरक्षकमा हस्ताक्षर गरेँ । त्यसपछि झन मलाई तारा बहादुरको अभिभावक भएको आभास भयो । अनि उसलाई अगांलो मार्दैै फेरी पनि राम्ररी बस्न र पढ्न सम्झाउँदै आफु बेला बेला भेट्न र लिन आउने वाचा गरेर फर्किएँ । फर्किदै गर्दा मनमा अनेक कुरा खेले । तारा बहादुर त एउटा उदाहरण मात्र हुन् । यस्ता बालबालिकाहरु कति छन कति हाम्रो समाजमा । छोराछोरीको लागि बुवाआमा नाता र उहाँको भूमिका कति अर्पुव छ । भवितव्यले छुट्टिनु त कसैले रोक्न सक्दैन तर छोराछोरी छोडेर अर्को व्यवहार गर्ने महिलाहरुको मन कसरी शान्त होला ? प्रश्न मन मनमै गरें ।
वर्षले झन्डै १३ वर्ष पुग्न लागेका तारा बहादुर निकै जिज्ञासु छन् । उमेरगत चन्चलता अभिभावक विहिन बालबालिकामा देखिने विषेशताहरु उनमा पनि छन् । उनको त्यो दोष हैन । बेलैमा उनलाई सहि बाटो देखाउन सकियो भने उनी यो देशको एउटा कर्णधार बन्न सक्छन् । यहि भावले नै मैले ताराबहादुरको पढाईको लागि सहजिकरण गरेकी हुँ । ठूलो काम केहि गरेकी हैन । ताराबहादुरको खुशी नै मेरो खुशी हो । तारा बहादुरका आँखामा मैले आकाशका झलमल्ल तारा जस्तै सपना र सम्भावनाहरु देखेकी छु । उनी पढेर ठूलो मान्छे भएर डाक्टर बन्न चाहान्छन् अनि गरिव दुखि पैसा नहुनेहरुलाई निःशुल्क उपचार गरिदिने सपना छ उनको । उनको सपना साकार पार्न मार्गदर्शक बन्नेछ अब कमलामाई जनज्योति मावि सिलामे र त्यहाँका गुरुहरु । बैशाखदेखि हालसम्म तारा बहादुरलाई विद्यालयसम्म ल्याउन सहयोग गर्नुहुने उनका भिनाजु, दाजु , वडा अध्यक्ष, वडा सचिव, विद्यालय परिवार, प्रधानाध्यापक लगायत लगायतलाई धेरै धेरै धन्यवाद । कमलामाई नगरपालिका जसले हरेक वर्ष यस्ता बालबालिकाको आवास सहित पठनपाठनका लागि बजेटको व्यवस्थापन गरेर सह्रानीय काम गरेको छ यो निकै सह्रानिय काम हो ।
म दुई छोरा छोरीकी आमा पनि हुँ त्यसैले बालबच्चाको हर कुराले मेरो मन छुन्छ । उनिहरुका भावना, रहर, चाहाना म सहजै बुझ्न सक्छु । यो एकाध आमा बाहेक सबै आमाहरुले बुझ्छन जस्तो लाग्छ मलाई । र यसपटक त्यहि आमाको ममता रुपी मनले घच्घचाएर ‘एउटा जिम्मेवारी पुरा गर्न प्रेरित गरेको र अनुभव भईरहेको छ मलाई ।’ मनमा कता कता आनन्द अनुभव भएको र खुशी दंग भएकी छु । ताराबहादुर सुन्दर भविष्यको शुभकामना तिमीलाई ।






















