सिन्धुली । नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ सिन्धुली पाँचौं जिल्ला सम्मेलन शनिबार र आईतबार सिन्धुलीमाढीमा हुने भएको छ । सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै संघले सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।
जिल्लाका ९ स्थानीय तहका ७९ वडाका ३ सय ९५ जना प्रतिनिधि, ३२ जना आयोजक, प्रदेश तथा केन्द्रीय कमिटीमा रहेका सदस्य तथा पदाधिकारीहरु सहितको सहभागितामा सम्मेलन गरिने प्रचार प्रसार उपसमितिका संयोजक बिमला पाण्डेले जानकारी दिईन । उनका अनुसार ‘६ वर्षपछि हुन थालेको सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।’ सम्मेलनमा प्रत्येक वडाबाट ५ जना प्रतिनिधि सहभागि रहने छन ।
प्रतिनिधि व्यवस्थापन, कार्यक्रमको व्यवस्थापन, प्रतिवेदन तयारी, निर्वाचनको प्रक्रियाको तयारी लगाएतका काम सकिएका छन । सम्मेलनमा सहभागि प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नुका साथै नयाँ कार्ययोजना बनाउने बनाउने छन ।
सम्मेलनको उद्घाटन अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एवम् बाग्मति प्रदेश संयोजक शुशिला नेपालले गर्ने संयोजक पाण्डेले जानकारी दिएकी छिन । सम्मेलनले १ अध्यक्ष, २ उपाध्यक्ष १ सचिव, १ उपसचिव र १ कोषाध्यक्ष सहित ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने छ ।
संघले सम्मेलनका लागि अनेमसंघ सिन्धुलीले पाँच लाख खर्च लाग्ने अनुमान गरेको छ । सो रकम व्यवस्थापनका लागि आर्थिक कमिटीले प्रयास गरिरहेको छ । प्रतिनिधि शुल्क, आयोजक शुल्कबाट २ लाख २९ हजार ५ सय आम्दानी हुने र अन्य खर्च सहयोग तथा आन्तरिक व्यवस्थापनबाट गरिने भएको पाण्डेले जानकारी दिएकी छिन । अनेमसंघका जिल्ला अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।






















