परिक्षण गरिएकामध्ये झण्डै तीस प्रतिशतमा कोभिड संक्रमण
सिन्धुली । जिल्लामा एकै दिन १० जनामा कोभिड १९ संक्रमण देखिएको छ । ३४ जनाको परिक्षण गरिएकोमा १० जनामा कोभिड संक्रमण देखिएको सिन्धुली अस्पतालले जनाएको छ । हरेक दिन परिक्षण गर्दा संक्रमण दर बढेको पाईएको सिन्धुली अस्पतालले जनाएको छ ।
जिल्लामा परिक्षण गर्दा कोभिड संक्रमणको दर समेत बढेको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन सागर देवकोटाले बताएका छन ।
तीन दिनको अनुपात हेर्दा जिल्लामा संक्रमण दर तिव्र गतिमा फैलन थालेको संकेत देखिएको देवकोटाले बताए । सोमबार २५ जनाको परिक्षण गर्दा ५ जना, मंगलबार ३५ जनाको परिक्षण गर्दा ७ जनामा संक्रमण देखिएकोमा बुधबार ३४ जनाको परिक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो ।
अस्पतालमा आएका ज्वरो सहित कोभिडका लक्षण देखिएका विरामीको अस्पतालले एन्जीजेन परिक्षण गर्दा संक्रमण हरेक दिन बढेको देवकोटाले बताए । स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीमा ३६ जना सक्रिय संक्रमित रहेका छन । सक्रिय संक्रमित मध्ये केहिलाई उपचारको लागि काठमान्डौ जाने सल्लाह दिईएको छ भने अधिकांश होम आईसोलेसनमा रहेका छन ।
संक्रमित अधिकांश कमलामाई नगरपालिका भित्रका रहेका छन । त्यसमा पनि सदरमुकाम रहेको बजार क्षेत्र समेत रहेको वडा नं. ६ मा बढी संक्रमित रहेको पनि अस्पतालले जनाएको छ ।
बढ्दै संक्रमित, अस्पताल छैन
कोभिड १९ संक्रमण फैलिएसँगै उपचार र सुरक्षाको चिन्ता बढ्न थालेको छ । प्रदेश सरकार मातहतमा चलेको कोभिड १९ परिक्षणका लागि स्थापना गरिएको पिसिआर ल्याव र कोभिड अस्पताल २०७८ मंसिरदेखि बन्द छ । प्रदेश सरकारले जनशक्ति कटौती गरेपछि अस्पताल चल्न सकेको छैन ।
सिन्धुली अस्पतालको मातहतमा चलेको यो अस्पतालमा कोभिड नियन्त्रणका लागि कुनै पनि बजेट छैन । ‘हामीसँग जनशक्ति छैन, बजेट पनि छैन, कोभिडका विरामी उपचार गर्न सक्ने अवस्थामा छैनौं’ सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले भने । उनले विरामीलाई उपचारका लागि काठमान्डौ पठाउनुको विकल्प नभएको बताए ।
प्रदेश सरकारले कोभिड अस्पतालका ४५ जना स्वास्थ्यकर्मी कटौती गरेका कारण अस्पताल बन्द भएको पोखरेलले बताए । ‘हामीले कर्मचारी, स्वास्थ्यकर्मी भर्ना गर्न सक्ने अवस्थामा छैनौं, प्रदेश सरकारले बजेट दिएको छैन’, उनले भने ।
उनले कोभिड १९ समुदायमै फैलिई सकेको अनुमान स्वास्थ्यकर्मीले लगाउन थालेको उनले बताएका छन । ‘कोभिड समुदायमा फैलियो भने ठूलो संकट आउन सक्ने सम्भावना छ,’ पोखरेलले भने ।
सरकारले बाग्मति प्रदेशमा कोभिड उपचारका लागि विर हस्पिटल, पाटन अस्पताल र ट्रमा सेन्टरलाई तोकेको छ । कोभिड परिक्षण ल्याव धुलिखेलमा चलेको छ । बाँकी सबै ल्यावहरु बन्द रहेकाले आगामी जोखिमलाई समेत ध्यान दिएर सचेत बन्नुपर्नेमा उनले जोड दिए ।
सचेतता छैन
नागरिकले पनि स्वास्थ्यका मापदण्ड अपनाएका छैनन । विना मास्क र विना सावधानी भिडभाड गर्ने, काममा जाने लगाएतका काम गरिरहेका छन । शैक्षिक संस्थाहरु निर्वाध रुपमा चलिरहेका छन । सयौ हजारौं बालबालिका विद्यालयमा रहेका छन । हाट बजार लगाएतका भिडभाड हुने ठाउँहरुमा निर्वाध भेला भएका छन । विभिन्न कार्यक्रमहरु चलिरहेका छन । स्वास्थ्य सावधानी कतै पनि नअपनाएका कारण जोखिम बढ्ने स्वास्थकर्मीहरु बताउँछन । कोभिड १९ को सावधानी, सचेतताका विषयमा स्थानीय प्रशासन, स्थानीय तहहरु, स्वास्थ्य संस्थाहरु लगाएतको पूर्व तयारी समेत भएको छैन ।





















