सिन्धुली । जिल्लाका पाँच पालिकामा प्रमुख पदमा उमेदवारी परेको छ । आइतबार भएको मनोनयनमा दुधौली नगरपालिकामा दुई, तिनपाटन गाउँपालिकामा एक, मरिण गाउँपालिकामा दुई, फिक्कल गाउँपालिकामा एक र सुनकोशी गाउँपालिकामा दुई गरि आठ जनाले प्रमुख÷अध्यक्ष पदमा उमेदवारी दिएका छन ।

दुधौलीका निर्वाचन अधिकृत दिपक ढकालका अनुसार दुधौली नगरपालिकाको मेयरमा वडा नं. ७ का केदार कुमार गिरी र वडा नं. ८ का भक्ति विलास दाहालले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन ।
यस्तै तिनपाटन गाउँपालिकाको अध्यक्षमा नेकपा (मास्र्कवादी पुष्पलाल) का पुरुषोत्तम अधिकारीले उमेदवारी दर्ता गराएका छन ।
तिनपाटनका निर्वाचन अधिकृत पुष्पराज कट्वालका अनुसार वडा नं. वडा नं. २ को अध्यक्षमा दिप बहादुर मानन्धरले उमेदवारी दर्ता गराएका छन । उनले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन ।
कमलामाई नगरपालिकामा वडा नं. ८ को अध्यक्षमा भिमबहादुर बोगटीले स्वतन्त्र उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृत ध्रुव प्रसाद सापकोटाले जनाएका छन ।
मरिण गाउँपालिकामा आइतबार ६ जनाले उमेदवारी दर्ता गराएका छन । पालिका अध्यक्षमा २ जनाको उमेदवारी परेको छ । नेकपा एमालेका गोविन्दलाल माझी र मंगोल नेश्नल अर्गनाईजेशनका छलिमाया पाख्रिनको उमेदवारी परेको निर्वाचन अधिकृत दुर्गा बन्जाडेले बताईन । उनका अनुसार उपाध्यक्षमा राजन थापाले स्वतन्त्र उमेदवारी दिएका छन भने मंगोल नेश्नल अर्गनाईजेशनका धनजरीमाया बलको उमेदवारी दर्ता भएको छ ।
यस्तै मरिणको वडा नं. ३ को वडाध्यक्षमा मंगोल नेश्नल अर्गनाईजेशनका चतुरमान लोले उमेदवारी दिएका छन भने उक्त वडाको दलित महिला सदस्यमा कान्छिमाया वि.कले उमेदवारी दिएकी छिन ।
यस्तै फिक्कल गाउँपालिकामा एक अध्यक्ष, एक उपाध्यक्ष एक वडा अध्यक्ष र ४ जना वडा सदस्यले उमेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृत डिक बहादुर कार्कीका अनुसार गाउँपालिका अध्यक्षमा मंगोल नेश्नल अर्गनाईजेशनका बुद्ध बहादुुर सुनुवार, उपाध्यक्षमा सविता माझी, वडा नं. ६ को अध्यक्षमा तकदिर राईको उमेदवारी परेको छ ।
वडाको सदस्यमा मंगोल नेश्नल अर्गनाईजेशनका बालकुमारी सुनुवार, भिमबहादुर राई, धु्रव तामाङले उमेदवारी दिएका छन भने उक्त वडाबाट अर्जुन राईले सदस्यमा स्वतन्त्र उमेदवारी दिएका छन ।
गोलञ्जोर गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाशजंग कार्कीका अनुसार उक्त पालिकामा वडा नं. ७ का हरिबहादुर नेपालीले नेकपा (समाजवादी)को तर्फबाट पालिका अध्यक्षमा उमेदवारी दिएका छन ।
यस्तै सुनकोशी गाउँपालिकामा ८ जनाले उमेदवारी दर्ता गराए । गाउँपालिका अध्यक्षमा उन्नत लोकतान्त्रिक पार्टीका बालकुमार बुर्जा र स्वतन्त्र उमेदवार उत्तमकुमार लामाले अध्यक्षमा उमेदवारी दिएका हुन । उक्त पालिकाको ३ नं. वडाअध्यक्षमा रामचन्द्र अधिकारीले उमेदवारी दिए । निर्वाचन अधिकृत लक्ष्मी पाण्डेका अनुसार वडा नं. ७ को अध्यक्षमा नानीमाया बम्जन र सोहि वडाको सदस्यमा प्रिति थापा मगर, लक्ष्मी बहादुर थिङ र मनिषा लामाले उमेदवारी दर्ता गराएका छन ।
जिल्लाका ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सोमबार सबै पालिकामा उमेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेका छन ।





















